पूर्व मिस नेपालले एमआईटीमा कात्तिक ३० गते रक्तदान कार्यक्रमको आयोजना गर्दै

पूर्व मिस नेपालले एमआईटीमा कात्तिक ३० गते रक्तदान कार्यक्रमको आयोजना गर्दै

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पूर्व मिस नेपालहरूले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् । पूर्व मिस नेपालहरूले कात्तिक ३० (शुक्रबार) का दिन बागबजारको एमआइटी कलेजमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।

रगत अभावका कारण धेरै व्यक्तिहरू जीवन र मृत्युको अवस्थामा रहनु पर्ने अवस्था नबनोस् भन्ने उद्देश्य राखी यो रक्तदान कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा रगत दिन इच्छुक जो कोही सहभागी हुन सक्ने सन् २०१० कि विजेता मिस नेपाल सदीक्षा श्रेष्ठले बताइन् ।

रक्तदान सबैभन्दा महत्वपूर्ण काम र मानव जीवन बचाउन मद्दत गर्ने विषय ठम्याउँदै पूर्व मिस नेपालहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । ‘रक्तदानले एक अर्काप्रति जिम्मेवार र सहयोगी पनि बनाउँछ, समाजमा जीवन र मृत्युको सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्ने रक्तदान आवश्यक छ भन्ने ठम्याइ यो कार्यक्रम गर्न लागेका हौं,’ उनले भनिन् ।

पूर्व मिस नेपालहरूले यसअघि पनि थुप्रै सामाजिक कार्यमा सहभागी भइ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रसँग जोडिए पनि विभिन्न स्थानमा पुगी स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको श्रेष्ठले जानकारी दिइन् ।

कात्तिक ३० गते हुने यो रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि सुरु भई बेलुका ६ बजेसम्म एमआईटी कलेजमा सञ्चालन हुनेछ । ‘रक्तदान एक अत्यन्तै महत्वपूर्ण मानवीय कार्य हो, जसले हजारौं जीवनहरूलाई बचाउन मद्दत पुर्याउँछ,’ उनले भनिन्, ‘रगतका अभावका कारण धेरै व्यक्तिहरूलाई जीवन र मृत्युको अवस्थामा रहनु पर्छ, जुन समस्या नहोस् भनेर पूर्व मिस नेपालको समूहले रक्तदान कार्यक्रम आयोजनाको तयारीमा छौं ।’

सबैले रक्तदानको महत्त्व बुझेर यस कार्यलाई प्रोत्साहित गरी नियमित रूपमा रक्तदान गर्ने बानी बसाल्न आवश्यक रहेको उनको भनाइ छ । रक्तदानले शरीरको रगतको स्तरलाई नियमित राख्न मद्दत पुर्याउने भएकाले रक्तदान गर्दा शरीर नयाँ र स्वास्थ्य रगत उत्पादन गर्न उत्प्रेरित हुन्छ ।

आगामी दिनमा पनि पूर्व मिस नेपालहरू सामाजिक कार्यमा सक्रिय रुपमा सहभागी हुँदै जाने पनि श्रेष्ठले बताइन् ।

Logo