बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज नेपालतर्फ प्रस्थान गरेका छन् । उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कनेछन् ।
राष्ट्रपति पौडेललाई यहाँस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री तेमुर मुसाएभले बिदाई गरे । अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन् ।
भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ ।
राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरे ।
“हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौंँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भने ।
मङ्गलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका समकक्षी डा मोहम्मद मुइजुसँग बाकुमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौँं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भने ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ शीर्षकको उच्चस्तरीय ‘राउण्ड टेबल’ बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरे ।





























प्रतिक्रिया