काठमाडौं । आइएसटी कलेजले नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम (एनसीटीटीएम)सँगको सहकार्यमा स्नातक तहको सुरुवात गरेको छ ।
आइएसटी/एनसीटीटीएम कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ब्याचलर अफ होटेल म्यानेजमेन्ट र ब्याचलर अफ टुरिजम् म्यानेजमेन्टको २०८१ का लागि नयाँ ब्याचको सुरुवात गरेको हो । जसका लागि आज कलेजले एक विशेष कार्यक्रमबीच नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
कलेजले पर्यटन क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्नका लागि पाठ्यक्रमबाहेकका सिकाइ पनि उपलब्ध गराउने भएकाले यस सहकार्यले नेपालको हस्पिटालिटीको क्षेत्रमा नयाँ आयाम थप्ने कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले बताइन् ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका सिइओ नरेन्द्र बज्राचार्यले मुलुकभित्र नै उच्च शिक्षा अध्ययनका लागि आइएसटी/एनसीटीटीएम कलेजले राम्रो शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गराएकोे बताए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसायमा हस्पिटालिटी क्षेत्रले ठूलो भूमिका खेलेकाले कलेजले यससम्बन्धी अध्यापन गराएर जनशक्ति उत्पादन र प्रवर्द्धनको कार्य गरिरहेको उनको भनाइ छ ।
नेपालमै उत्कष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित सन् २००४ मा स्थापना भएको यो कलेजले नेपालको आर्थिक समृद्धिमा योगदान दिइरहको उनले बताए । कलेजले विद्यार्थीको वर्तमान मात्र नभएर भविष्य पनि सुन्दर बनाउनका लागि दत्तचित्त भएर लागिपरेको उनको भनाइ छ ।

यसैगरी कलेजका डाइरेक्टर तेजबहादुर ढकालले पछिल्लो समयमा हस्पिटालिटी चल्तीको विषय भएको बताएका छन् । ‘यो विषय एउटा पेशा पनि हो, यसलाई व्यवसाय पनि बनाउन सकिन्छ । नेपालमा हस्पिटालिटीको राम्रो सम्भावना रहेको छ ।’ उनले भने, ‘तिमीहरूले नेपालमै ब्याचलर डिग्री गरेकामा म खुसी छु । किनभने यसले तिमीहरूको नेपालप्रतिको धारणा झल्काउँछ ।’
नेपालबाट ५० लाख मान्छे विदेशिँदा यहाँ मान्छे नै छैनन् भनेर निराश हुनुपर्ने अवस्था नरहने भन्दै उनले हस्पिटालिटी क्षेत्रले ५० लाख मान्छे बाहिरिँदा १ करोड पर्यटकलाई आकर्षित गरेर भित्र्याउन सक्ने बताए ।

‘नेपालका प्रत्येक डाँडा भ्यूटावर जस्ता छन्, प्रत्येक घर होमस्टे हुन् भने खेतका प्रत्येक गह्राहरू स्टेडियम हुन् । त्यही स्टेडियमबाट हिमाल हेर्दै रमाउन सकिने ठाउँ हो नेपाल ।’ उनले अगाडि भने, ‘यसकारण हस्पिटालिटीका विद्यार्थीले यसलाई प्याकेज बनाएर लेटेस्ट टेक्नोलोजीको प्रयोगमार्फत प्रोमोसन गर्ने हो । यसरी हामीले रोजगारी खोज्नुभन्दा पनि अरूलाई रोजगारी दिने हौँ भनेर काम गर्न सक्छौँ ।’
सकारात्मक सोच, सही दृष्टि, सही संगत र सही सिकाइले सफलता प्राप्त हुने भएकाले यसमा विचार गर्नुपर्ने उनको भनाइ छ ।

करिब दुई दशकदेखि आइएसटी/एनसीटीटीएम कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ ।





























प्रतिक्रिया