बैंकक । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्ने बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको ग्लोबल मिट २०२४ लाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालको विविध संस्कृतिले सहिष्णुता र सहकार्यलाई कसरी प्रेरित गर्दछ भन्ने विषयमा विशेष जोड दिए ।
बैंककस्थित रोयल थाई आर्मी क्लबमा आयोजित ग्लोबल मिट २०२४ मा अध्यक्ष अन्सारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ३० भन्दा बढी देशका विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए।
मानवअधिकार, शान्ति र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई उजागर गर्दै अध्यक्ष अन्सारीले भने, ‘नेपालका विविध संस्कृतिहरूले हामीलाई सहअस्तित्वको पाठ सिकाएको छ। यो शान्ति र सहयोगको भावना नै हामीले विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो।’ उनले शिक्षा, विज्ञान र संस्कृतिलाई शान्ति र समृद्धिको मुख्य आधारस्तम्भका रूपमा औँल्याउँदै गुणस्तरीय शिक्षाको पहुँचलाई विश्वव्यापी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष अन्सारीले थाई आर्मीका विशिष्ट अधिकारीहरूलाई उत्कृष्ट सेवाका लागि पुरस्कार वितरण गरे । उनले शान्ति र विकासका क्षेत्रमा थाई सेनाको योगदानको प्रशंसा गरे ।
ग्लोबल मिटमा थाई आर्मीका जनरल तथा उच्च अधिकारीहरूसहित नेदरल्याण्ड, जापान, इन्डोनेसिया, हङकङ, भारत र थाइल्याण्डलगायतका देशका उच्चस्तरीय प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले शान्ति स्थापना, शिक्षा र मानवअधिकार प्रवर्द्धनका विविध दृष्टिकोण र अनुभवहरू आदानप्रदान गरे।
ग्लोबल मिट २०२४ ले विकासशील देशहरूमा मानवीय सहायता, स्वास्थ्य सेवा र शिक्षा प्रवर्द्धनमार्फत शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको समापनमा अध्यक्ष अन्सारीले यस्तो महत्त्वपूर्ण मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘यो बैठक शान्ति र समृद्धिका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो। आगामी दिनमा पनि यस मञ्चले विश्वव्यापी सहयोगलाई बलियो बनाउन योगदान पुर्याउनेछ भन्ने विश्वास छ।’ कार्यक्रमले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।































