(ज्ञानमणि नेपाल कालोटोपी)
यतिबेला बजारमा आएका कुनै कृषि उत्पादन छैन होला जसमा विषादी प्रयोग नगरिएको होस् । विगत २ दशकदेखि विशेषगरि तरकारीमा विषादीको प्रयोग बढेकै छ । सँगै अन्य खाद्यान्नहरुमा पनि विषादी हाल्नेक्रम रोकिएको छैन । यसले मानव स्वास्थ्यका लागि मात्र हानि गरेको छैन, ठूलो मात्रामा आर्थिकक्षति पनि गराएको छ । वातावरण प्रर्दुषणको मुख्य कारकतत्वको रुपमा त यो रहेकै छ । तैपनि पछिल्ला दिनहरुमा यसको प्रयोगमा न्युनिकरण आउन सकेको छैन । न वैकल्पिक व्यवस्था नै हुन सकेको छ । जसका कारण आज किसानको खेतदेखि सर्वसाधारणको भान्सा सम्म नै विषादीको प्रवेश भएको छ ।
के हो विषादी ?
विषादी भन्ने वित्तिकै हामीलाई लाग्छ, कुनैपनि जिवित प्राणिको लागि खतरनाक तत्व हो । यसको गलत प्रयोगले मानिस मात्र नभएर जनावर र किरा फट्यांग्रा समेतको तत्कालै मृत्यु समेत हुन्छ । यसको प्रयोग घातक हुन्छ तर पनि आवश्यकता अनुसार प्रयोग गर्नु बाध्यता पनि छ । विशेषगरि किसानले यसको प्रयोग वढाएका छन् । यो धुलो वा तरल दुवै प्रकारले बजारमा सहजै किन्न सकिन्छ ।
किन प्रयोग हुन्छ विषादी ?
परम्परागत कृषि प्रणालीले वढ्दो जनसंख्यालाई नपुग्ने भएकाले कृषकहरु कृषिमा नयाँ प्रविधि प्रयोग गर्न बाध्य छन् । नयाँ प्रविधिलाई नयाँ विउविजन र रासायनिक मलको प्रयोग पनि धेरै नै गर्नु पर्ने हुन्छ । हाइब्रिड जातका कृषि उत्पादनहरुले वातावरणको परिवर्तनलाई सहजै पचाउन सक्दैनन् । त्यसपछि विभिन्न प्रकारका किराफट्यांग्राको प्रकोपले बालीनालीनै सखाप हुने सम्मको अवस्था आउने गरेको हामीले देखेसुनेकै कुरा हो ।
यस्ता समस्या आएपछि कृषकहरुले विषादीको प्रयोग गर्ने गरेका छन् । हुन त प्राकृतिक तरिकाले पनि किटाणुको न्युनिकरण गर्न सकिन्छ तर किसानहरुले छिट्टै उत्पादन लिन सकिने होडबाजीले गर्दा विषादी प्रयोग वढाउँदै लगेको पाइएको छ । एकातिर यस्तो अवस्था छ भने अर्कातिर विषादी प्रयोगले वातावरणलाई नै दीर्घकालिन प्रभाव पनि पार्छ ।
मानिसलाई लाग्ने दीर्घरोगहरु क्यान्सर, मधुमेह, श्वासप्रश्वास, मृगौलाफेल लगायतको मुख्य कारण पनि विषादीको प्रयोग वढ्दो भएर नै हो । तर हामीले त्यतातिर खासै ध्यान पुर्याउन सकेका छैनौं । यसले गर्दा विषादी प्रयोग आज भिमकाय समस्याका रुपमा रहेको छ ।
विषादीको स्रोत के हो ?
हामीले प्रयोग गर्ने विषादी थोरै मात्र स्वदेशमा उत्पादन हुन्छ । बहुसंख्यक विषादी विदेशबाटै आयात गर्नु पर्ने अवस्था छ । प्राप्त एक तथ्यांक अनुसार नेपालमा विषादी भारत, चीन, जर्मनी, अमेरिका, बंगलादेश लगायतबाट आयात हुन्छ । यी देशहरुबाट आर्थिकवर्ष २०७०/०७१ मा १ अर्ब ७१ करोडको विषादी आयात गरिएको थियो । यस्तै ०७१/७२ मा २ अर्ब १ करोडको आयात गरिएकोमा वर्ष ०७२/७३ मा आयात वढेर २ अर्ब १४ करोड रुपैयाँको विषादी नेपाल आएको छ ।
आर्थिक वर्ष ०७३/७४ मा २ अर्ब ६१ करोड र गतवर्ष २ अर्ब ५१ करोड रुपैयाँको विषादी आयात भएको थियो । चालु आर्थिकवर्षको पहिलो ५ महिनामा यसको आयात अस्वाभाविक रूपमा बढेको छ । तथ्यांक अनुसार यसअवधिमा १ अर्ब १५ करोड ९८ लाख रुपैयाँको ३२ लाख ३४ हजार ५ सय किलो विषादी आयात भएको छ ।
अघिल्लो आर्थिकवर्षको पहिलो ५ महिनामा ८९ करोड ४६ लाख रुपैयाँको ३० लाख २९ हजार ८ सय किलो मात्र आयात भएको तथ्यांक बताउँछ । यसरी हेर्दा ५ वर्षको अवधिमा ११ अर्ब भन्दा धेरैको विषादी आयात भएको देखिन्छ । विषादीले मानवस्वास्थ्यको लागि हानी गर्ने थाहा भएपनि यसको आयात र प्रयोगमा कमी आउन सकेको छैन । बरु होडबाजी जस्तै भएको छ ।
नियन्त्रणका लागि सरकारी पहल के छ ?
सरकारले पटक पटक अर्गानिक खेतीमा जोड दिने र किसानहरुमा वढीरहेको विषादीमोहलाई निरुत्साहित गर्ने निती अघि सारेको निकै वर्ष भइसक्यो तर त्यसलाई कार्यान्वयन गर्न भने फलामको चिउरा चपाउनु जतिकै भएको छ । न यसको आयात घटेको छ न किसानहरुले प्रयोग नै घटाएका छन् । तैपनि वर्षेनी नारा भने निकै नै मिठा लगाएको सरकारले हालै मात्र एउटा निर्णय गरेको छ । निर्णय अनुसार नेपालमा प्रतिबन्धित २१ प्रकारको विषादीको आयात र प्रयोग गर्न नपाउने बताइएको छ । अबदेखि यस्ता विषादीको बिक्री वितरण गर्ने व्यक्तिले ५० हजारदेखि एक लाखसम्म जरिवाना तिर्नुपर्ने वा तीन महीनासम्म कैद वा दुवै सजायँको भागीदार हुने छन् ।
धेरैजसो विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने गरिन्छ । अन्नबालीमा हालिएको विष विस्तारै सर्वसाधारणको भान्सा सम्म जान्छ । विषादी प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा हामीले जानेर वा नजानेरै यसको सेवन गरिरहेका छौं । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउण्ड लगायतका विषादी नेपालमा प्रतिबन्धित गरेको थियो । त्यस्तै सन् २००७ मा मिथाइल पाराथियन, मोनोक्रोटोफस र सन् २०१४ मा इण्डोसलफान र फोरेट लगायतका २१ थरी विषादीलाई राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित विषादीको सूचीमा सूचीकृत गरेको थियो ।
तर पनि यस्ता विषादीको आयात र प्रयोग अहिले सम्म पनि निरन्तर छ । यसले सरकारलाई चुनौती थपेपछि हालैमात्र यस्ता विषादी प्रयोगमा कडाइ गर्ने सरकारले जनाएको छ । नियन्त्रण गर्न सकिने वा नसकिने भन्ने बारे अहिले केहि भन्न सकिने अवस्था भने अझै छैन ।
नेपालमा विषादीको प्रयोग कहाँ कहाँ उच्च छ ?
हुन त यही ठाउँमा विषादीको प्रयोग यति नै छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर पनि तरकारी खेतीका लागी पकड जिल्लाका रुपमा रहेका धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, सर्लाही, भक्तपुर लगायतका जिल्लामा विषादीको प्रयोग अलि धेरै देखिएको पाइएको छ । अन्य जिल्लामा भने यसको कम प्रयोग पाइएको छ । यी जिल्लाहरुमा पहिले विषादी प्रयोग उच्च हुने गरेको भए पनि विगत केहि वर्ष यता भने वैकल्पिक प्रयोग पनि हुने गरेको छ ।
यी जिल्लाहरुमा दीर्घरोगका विरामीहरु धेरै नै देखा परेपछि किसानहरु सचेत हुन थालेका छन् । उनीहरु विषादीको सट्टा जैविकमल, गहुँत, गाउँघरमै पाइने झारबुटीको प्रयोग गरि यस्ता हानीकारक विषादीलाई कम गराउने अभियानमा पनि छन् । पछिल्लो पटक किसानमा आएको यो परिवर्तन र चेतनालाई भने सकारात्मक रुपमै लिनुपर्ने हुन्छ ।
जानकारहरु के भन्छन् ?
विज्ञहरुका अनुसार तरकारीमा प्रयोग हुने एक प्रतिशत विषादीले किरा मार्छ । बाँकी ९९ प्रतिशत मान्छेको शरिरदेखि वातावरणमा घुलमिल हुन्छ । विषादी जसले छर्छ उसलाई अरुभन्दा चारगुना बढी असर गर्छ । दीर्घरोगका विरामी बढाउँछ । गहिरो अध्ययन त अझै भएको छैन तर त्यसको कारण विषादीसँगै जोडिने गरेको उपचारका क्रममा डाक्टरहरुले बताउने गरेका छन् ।
नेपालको सन्दर्भमा ६ सय ३५ मेट्रिकटन विषादी हरेकबर्ष भित्रने गर्छ । नेपालमा १२ हजार ८ सय ८७ वटा खुद्रा पसलबाट विषादीको कारोबार भइरहेको छ । असरको अध्ययनपछि सरकारले २१ वटा विषादी प्रतिवन्ध गरिसकेको छ । तीन हजार ३५ किसिमका विषादी अहिलेपनि प्रयोग भैरहेका छन् । २०१७ मा भएको एक अध्ययनले नेपालमा तरकारी खेतीमा प्रयोग हुने ८५ वटा विषादीले भने क्यान्सर सम्म हुन सक्ने देखाएको छ ।
समाधानको उपाय के छ त ?
जहाँ समस्या त्यहाँ समाधान त पक्कै हुन्छ नै । विषादी आफैंमा समस्या होइन । समस्या त यसको व्यवस्थापन र प्रयोग गर्न नजानेरै भएको हो । अहिले पनि विषादी प्रयोग गर्दा सावधानी अपनाउने गरिएको पाईंदैन । सामान्य मास्क, पन्जा पनि नलगाइ यसको प्रयोग गर्ने किसानको संख्या धेरै छ ।
जसले गर्दा आँखाको रोग, छालाको रोग, फोक्सोको रोग , क्यान्सर लगायतका समस्या उनीहरुमा देखिएको छ । एकातिर यस्तो छ भने अर्कातिर कुन विषादी के मा प्रयोग गर्ने भन्ने पनि ज्ञान नभएका कारण किसानहरुले यसको प्रयोग जथाभावी गर्ने गरेका छन् । सरकारले पहिले त किसानलाई सचेत गराउन जरुरी छ ।
यसका साथै वर्षेनी अर्बौं रुपैयाँ विषादी खरिदका लागि खर्च गरेको छ । यसलाई रोक्दै प्राकृतिक रुपमा कसरी किटाणु नियन्त्रण गर्न सकिन्छ भनेर किसानलाई ज्ञान दिलाउन सके यसको प्रयोग पक्कै पनि घट्छ । किसान सचेत पनि हुन्छन् । किसानलाई पनि यसरी विषादी प्रयोग गर्न र यसका लागि थुप्रै पैसा खर्च गर्न पक्कै पनि रहर त छैन होला । अर्कातिर स्वयं किसानहरुले पनि यसतर्फ सचेत बन्न जरुरी छ । कृषि उत्पादनमा अस्वस्थ प्रतिश्पर्धा गरेर विषादी प्रयोग गर्नाले कालान्तरमा आफैंलाई हानी पुग्ने रहेछ भनेर बुझ्न जरुरी छ ।
यसो गर्न सकियो भने विषादीबाट हुने हानी पक्कै रोक्न सकिन्छ । वातावरण प्रदुर्षण हुने खतरा पनि कम हुन्छ । यसकै लागि वर्षेनी बाहिरिने अर्बौं रुपैयाँ पनि वचत हुन्छ । एकजनाले मात्र रोक्न खोजेर सकिंदैन । सबैको साथ र सहयोग भयो भने असम्भव पनि केही छैन । अब यतातिर सोच्न जरुरी छ ।































प्रतिक्रिया