पाँच मुखे रुद्राक्षको व्यापार खच्किँदै, व्यापारीलाई लगानी सुनिश्चित गर्नै सकस

पाँच मुखे रुद्राक्षको व्यापार खच्किँदै, व्यापारीलाई लगानी सुनिश्चित गर्नै सकस


काठमाडौं । मूल्यका हिसाबले निकै चर्चित मानिएको आकर्षक पाँचमुखे रुद्राक्षको व्यापारमा पछिल्लो समय मन्दी छाउन थालको छ । वर्षेनी मूल्य घट्दै जानु साथै बिक्रीमा पनि कमी आएसँगै यो वर्ष व्यापारीलाई उक्त पाँचमुखे रुद्राक्षबाट लगानी सुनिश्चित गर्न हम्मेहम्मे परेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा भित्र्याउनका लागिसमेत उत्कृष्ट मानिँदै गएको यस क्षेत्रका समस्याहरू बढ्दै जाँदा किसानहरू पनि मर्कामा पर्ने देखिन्छ । औषधि र क्लिपको प्रयोग गरेर तयार गरिएको पाँच मुखे रुद्राक्षले पनि उचित मूल्य नपाएको व्यपारीहरुको गुनासो छ ।

विदेशी व्यापारीको आगमन कमीका कारण माग घट्दै गएपछि पाँच मुखे रुद्राक्षको व्यापार चुनौतीपूर्ण अवस्थामा पुग्दै गएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंले बताए । ‘अहिले अधिकांश व्यापारीले रुद्राक्षको फुल फुल्ने सिजनदेखि नै औषधी लगाएर पाँच मुखेको खेती गरेका छन्, तर बिक्री नै कम हुन थालेपछि अहिले व्यवसायीहरू पनि चिन्तितको अवस्थामा देखिन्छन्,’ उनले भने ।

गत वर्षसम्म ३०/३२ लाख रुपैयाँसम्म बिक्री हुँदै आएको एउटै बोटको पाँच मुखे रुद्राक्ष अहिले अढाई लाखमा पनि बिक्री नभएको चापागाईंले जानकारी दिए । विदेशी व्यापारीको योजनामा नेपाली व्यापारी हिँड्दा समस्या सिर्जना भएको उनको भनाइ छ ।

‘रुद्राक्ष खरिद गर्ने देशहरूले रुद्राक्षमा प्रयोग गर्ने प्रविधि पनि भित्र्याइदिए, यसले केही हदसम्म रुद्राक्ष बन्यो, तर बेफाइदा पनि बढाइदियो, नेपाली व्यापारीबाट जसरी रुद्राक्ष लगेर त्यसैलाई महँगो मूल्यका औषधीका रुपमा भिराएर घाटा तुल्याउँदै गएको यहाँका व्यवसायीले पत्ताे पाएनन्,’ उनले भने ।

अध्यक्ष चापागाईंका अनुसार पाँच मुखे रुद्राक्षको मूल्यमा ६५ प्रतिशतले गिरावट आएको छ । रुद्राक्ष गुणस्तर हुँदाहुँदै पनि उचित मूल्यमा बिक्री नहुँदा व्यापारीलाई लगानी सुनिश्चित गर्नै सकस देखिएको उनले जानकारी दिए ।

प्रति केजी लाखौंमा बिक्री हुँदै आएको रुद्राक्ष अहिले ४०/५० हजार रुपैयाँमा खुम्चिँदा व्यवसायीलाई पनि अन्योल बनाएको छ । ‘औषधी वा अन्य विधिको प्रयोग गरेर उत्पादन गरेको रुद्राक्षको मूल्यलाई पहिला माथि उचालियो र महँगोमा बेच्यो पनि, रुद्राक्ष नबिकेको हैन, उत्पादन पनि बढ्दा बिक्री कम देखिएको हो,’ उनले भने ।

रुद्राक्ष व्यवसाय संगठित हुन नसक्दा पनि यसको व्यापार अप्ठ्यारो पूर्ण अवस्था सिर्जना हुँदै गएको चापागाईंको भनाइ छ । नेपालबाट पाँच मुखे रुद्राक्ष प्राय महँगो मूल्यमा चीन निर्यात हुँदै आएको छ । उक्त रुद्राक्षको गुणस्तरलाई हेरेर प्रतिकेजी नै लाखौं रुपैयाँमा बिक्री हुन्छ ।

यद्यपि पहिला प्रतिकेजी ११ लाख पर्ने रुद्राक्ष अहिले ५० हजारमा पनि बिक्री हुन छाडेको रुद्राक्ष व्यापारी चन्द्रमणि खत्रीले बताए । उनका अनुसार चाइनिज व्यापारी आगमनको कमीका कारण पाँच मुखे रुद्राक्षको बजार खच्किँदै गएको हाे ।

‘पहिला जस्तो चाइनिज व्यापारी आउन छाडे, आउने व्यापारी पनि सीमित संख्यामा छन्, ती व्यापारीले सीमित मात्र रुद्राक्ष किन्छन्, अनि सस्तोमा खोज्छन्, आफैले ठूलो रकम हालेर किनेको रुद्राक्ष सस्तोमा दिने कुरा आएन,’ उनले भने ।

रुद्राक्षको खोजीमा गाउँगाउँमा पुग्ने व्यापारी एकाएक हराउँदा रुद्राक्ष कारोबारको रौनक खासै नभएको उनको भनाइ छ । उनका अनुसार गुणस्तर सामान चाइनिजले लग्ने र बाँकी सामान्य पाँच मुखे भारततर्फ निर्यात हुँदै आएको छ ।

विश्व बजारमा निर्यात हुने रुद्राक्ष सम्बन्धित देशकै व्यापारी आएर खरिद गर्दै आएका छन् । पछिल्लो केही वर्ष यता व्यापारीहरू नआउँदाको अवस्थाले यसको व्यापार उत्साहजनक नभएको नेपाली व्यापारीहरू सुनाउँछन् ।

रुद्राक्ष व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका व्यापारी ताराबहादुर राई पनि रुद्राक्षको कारोबार खच्किँदै गएको बताउँछन् । ‘रुद्राक्ष व्यापारमा मेरो सक्रियता निकै ठूलो थियो, वर्षेनी मैले करोड माथिको कारोबार गर्थेँ, तर पछि व्यापारमा घाटा भोग्नु पर्यो,’ उनले भने ।

रुद्राक्षको व्यापार गर्ने क्रममा आफूले करिव ६ करोड रुपैयाँ रकम डुबाएको राईले बताए । अहिले उनी ठूला मुखी रुद्राक्षको मात्र किनबेच सामान्य तरिकाबाट गरिरहेका छन् ।

रुद्राक्षको व्यापारमा कमाउने र गुमाउने बराबर चान्स रहेको राई बताउँछन् । रुद्राक्षको उत्पादन बढ्दै जानु र यसको व्यापारमा कमी आइराख्दा किसानलाई समेत भोलिका दिनमा समस्या पर्ने देखिन्छ । नेपाली व्यापारीले माग भएका देशमा लगेर रुद्राक्ष पुर्याएर बिक्री गर्न नसक्दा यसको व्यापारले फड्को मार्न नसकेको धेरैको बुझाइ छ ।

३० बढी फले २१ मुखे रुद्राक्ष

रुद्राक्षको राजा जस्तै मानिएको २१ मुखे रुद्राक्ष गत वर्ष (२०८०) को तुलनामा यो वर्ष धेरै फलेका छन् । एउटै २१ मुखे रुद्राक्षको लाखौं रुपैयाँमा कारोबार हुने भएकाले यसलाई निकै बहुमूल्य रुद्राक्षको रूपमा पनि दाँजिन्छ । संघका अध्यक्ष चापागाईंले यो वर्षको अहिलेसम्म नेपालमा ३० वटा भन्दा बढी २१ मुखे रुद्राक्षको कारोबार भइसकेको जानकारी दिए ।

यसवर्ष २१ मुखे रुद्राक्ष प्रतिगाेटा ५० लाख रुपैयाँ भन्दा माथिको मूल्यमा किनबेच भएका छन् । यो रुद्राक्ष सीमित मात्र फल्ने भएकाले यसको मूल्य उच्च हुन गएको हो । यो वर्ष ठूला मुखी (मुखदार)ले पनि आकर्षक मूल्य पाएको बताइएको छ । यद्यपि यसपटक गत वर्ष जस्तो मुखदारको उत्पादन नभएको रुद्राक्ष व्यापारी प्रयाग गौतमले बताए ।

नेपालका विभिन्न जिल्ला भोजपुर संखुवासभा, झापा लगायतका स्थानहरूमा रुद्राक्ष बढी मात्रामा उत्पादन हुने गर्छ । विभिन्न आकार र प्रकारका रुद्राक्ष उत्पादन हुने भएकोले त्यसको गुणस्तर अनुसार प्रत्येकको मूल्य फरक हुन्छ । यसको महत्वलाई बुझेर उत्पादन, बिक्री र वितरण गर्नसके देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यवसायीहरू बताउँछन् ।

Skip This
Skip This
Logo