काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को हल्ट प्राइज पुरस्कारका लागि दर्ता खुला भएको छ । विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि दर्ता खुला भएको हो ।
काठमाडौँ विश्वविद्यालयको हल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याहरूको सामना गर्न प्रेरित गर्न सञ्चालन गर्दै आइएको एक प्रतिष्ठित वार्षिक प्रतियोगिता हो ।
यसले विद्यार्थी नवप्रवर्तकहरूलाई सामाजिक प्रभाव सिर्जना गर्न सशक्त गर्दै आएको छ। यस प्रतिस्पर्धाले सहभागीहरूलाई खाद्य सुरक्षा, पानीको पहुँचदेखि लिएर ऊर्जा, वातावरण, रोजगारी तथा शिक्षाको क्षेत्रमा विश्वव्यापी चुनौतिहरूको नवीन समाधानहरू विकास गर्न प्रेरित गर्छ। उचित विचारहरूलाई विश्वमा प्रभाव पार्ने किसिमको व्यवसायमा रुपान्तरण गर्नु नै यसको लक्ष्य रहेको छ।
हल्ट पुरस्कारको विश्वव्यापी विजेतालाई १० लाख अमेरिकी डलर बराबरको स्टार्टअप पुरस्कार प्रदान गरिन्छ ।
२०२४ को हल्ट पुरस्कारका लागि मुख्य विवरणहरू
हल्ट पुरस्कार २०२४–२५ कोहोर्टको विषयवस्तु असीमित रहेको छ, जसले सहभागीहरूलाई संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमध्ये कुनै पनि एकसँग मिल्ने नवीन समाधानहरू विकास गर्ने स्वतन्त्रता प्रदान गर्दछ।
प्रत्येक टोलीमा दुईदेखि चार सदस्यहरू हुनुपर्छ र टोलीका सबै सदस्यहरू स्नातक, स्नातकोत्तर वा पीएचडी जुनसुकै तहबाट भए पनि विश्वविद्यालय स्तरका विद्यार्थी हुनैपर्छ। यस वर्षको प्रतियोगिता काठमाडौँ विश्वविद्यालयका सातवटा विद्यालयका विद्यार्थीहरूका लागि मात्र नभई अन्य विश्वविद्यालयका विद्यार्थीहरूका लागि पनि खुला रहेको छ र यसरी यो विविधता, अन्तर–संस्थागत सहकार्य र विचारको समृद्ध आदानप्रदानको माध्यमको रूपमा उभिएको छ।
काठमाडौँ विश्वविद्यालयको हल्ट पुरस्कारमा भाग लिनुपर्ने कारण
यस प्रतियोगिताले विद्यार्थीहरूलाई विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्ने अवसर दिँदै उनीहरूको रचनात्मकता, नेतृत्व र उद्यमशीलताको सीपहरू प्रदर्शन गर्नको लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। सहभागीहरूले मार्गदर्शन, नेटवर्किङ अवसरहरू र स्रोतहरूमा पहुँच पाउँछन् । जसले उनीहरूका विचारलाई प्रभावकारी स्टार्टअपमा बदल्न मद्दत गर्दछ।
प्रविधि, दिगो विकास वा सामाजिक रुपान्तरणमा चासो देखाउनेलाई हल्ट पुरस्कारले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गरेर आफ्नो छाप छोड्ने एक अद्वितीय अवसर प्रदान गर्दछ । यस प्रतिस्पर्धामा सहभागी हुनका लागि काठमाडौँ विश्वविद्यालयको हल्ट प्राइजको फेसबुक तथा इन्स्टाग्राम पेजमा दर्ता फारम निःशुल्क उपलब्ध छ।
हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको टोली दर्ता फारमका लागि दिइएको क्यू आर कोड स्क्यान गर्न सकिन्छ ।































प्रतिक्रिया