नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौति देखिएको छः मन्त्री सिंह

नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौति देखिएको छः मन्त्री सिंह

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतिहरू रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रममा उनले नेपालमा जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पछिल्लो समय प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेकाले नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौति देखिएको बताएका हुन् ।

उनले भने, ‘जियोटेक्निकल इन्जिनियरिङ सिभिल इन्जिनियरिङको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । नेपालमा भूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ । यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ । नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतिहरू छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा एकदमै राम्रो छ ।’

उनले पछिल्लो समय विकासोन्मुख देश र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरू धेरै प्रभावित भएको भन्दै कार्यक्रममार्फत युवा जियोटेक्निकल इन्जिनियरहरूले विश्वको प्रविधिहरू सिक्ने मौका पाउने बताए ।

उनले भने, ‘देशले कोभिडले गर्दा ठूलो अर्थ संकट बेहोर्नु परेको थियो र त्यसको साथै पछिल्लो समय भारी वर्षाका कारण देश बाढी र पहिरोबाट पनि प्रभावित भएको छ । विकासोन्मुख देश भएकाले र कमजोर इन्जिनियरिङ ढाँचा, डिजाइन र प्रविधिको कारणले पनि संरचनाहरू धेरै प्रभावित भएको छ । यस समारोह हाम्रा युवा जियोटेक्निकल इन्जिनियरहरूले विश्वको प्रविधिहरू सिक्ने मौका पाउने छन् ।’

Logo