काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ सुरु भएको छ । आज र भोलि अर्थात् (मंसिर १४ र १५ गते) काठमाडौँको हायत रेजेन्सीमा सञ्चालन हुने यो सम्मेलन शैक्षिक क्षेत्रको सुधार र विकासमा मद्दत पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
उक्त सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन् । सम्मेलनको उद्घाटन क्रममा प्रचण्डले शैक्षिक क्षेत्रको रूपान्तरणको लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।‘शिक्षा समाजको शक्ति हो, धेरै देशको पहिलो प्राथमिकतामा शिक्षा पर्छ, तर नेपालमा यस क्षेत्रलाई सुधारको बाटोमा लगेर समय सापेक्षित बनाउन नसक्दा समस्या देखिन्छ।’ उनले भने ।
आफू प्रधानमन्त्री हुँदा शैक्षिक क्षेत्रको रूपान्तरणको लागि निकै पहल गरेको बताउँदै प्रचण्डले सरकारले शैक्षिक सुधारका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा विदेशी तथा स्वदेशका शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपलहरू, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरू सहभागिता रहेको छ । सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक– विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले यस सम्मेलनले विदेशी विद्यार्थी भित्र्याउनको लागि मद्दत पुर्याउने बताए । ‘अध्ययनका लागि अहिले नेपालबाट विद्यार्थी विदेशी रहेका छन्, यो अवस्थालाई कम गर्नको यही अवसरको सिर्जना गर्नुपर्छ, विदेशी विद्यार्थी ल्याउने सरकारले ढोका नखोल्दा विद्यार्थीहरू आउन सकेनन्,’ उनले भने ।

विदेशी विद्यार्थीलाई पढाउन सक्ने क्षमता नेपालमा बन्न थालिसकेको ढुङ्गानाले जानकारी दिए । दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू सञ्चालन हुने बताइएको छ । सम्मेलनमार्फत शैक्षिक विषयका छलफल, नीतिगत बहस र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजि गरिने ढुङ्गानाले बताए ।






























प्रतिक्रिया