नौ पटक शिलान्यास भएको मेची पुल बल्ल बन्यो : प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

नौ पटक शिलान्यास भएको मेची पुल बल्ल बन्यो : प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

केन्द्रबिन्दु
0
Shares

भद्रपुर

सात दशक लामो प्रयासपछि भद्रपुरस्थित बहुप्रतिक्षीत मेची नदीको पुल उद्घाटन भएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार पुलको उद्घाटन गरे । धेरैपटक शिलान्यास भएर पनि बीचबीचमा रोकिएको मेची पुल हुलाकी राजमार्ग निर्माण परियोजनाले ३३ करोड लागतमा बनाएको हो । पुलको पूरै भाग नेपाली जमिनमै पर्छ ।

पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गति कुनै हालतमा अवरुद्ध नहुने बताए  । रेल हेर्न आफू सानोमा हाफपाइन्ट लगाएर खाली खुट्टा भद्रपुर नाका हुँदै भारतको गलगलिया पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल दौडाएरै छोड्ने बताए । ‘अब रेल हेर्न खोलो तरेर अर्को मुलुक जानैपर्दैन, पूर्व–पश्चिम रेल कुदाएरै छाडिन्छ,’ उनले भने ।

नेपाल–भारत सीमाको मेची पुल निर्माणका लागि स्थानीयले ६५ वर्ष बिताएको स्मरण गर्दै उनले अब यस्तो समस्याबाट जनताले मुक्ति पाउने विश्वास व्यक्त गरे । पुलसँग जोड्ने भारततर्फको बाटोका लागि आफैँ भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने प्रधानमन्त्री ओलीले बताए ।

पुल ५६० मिटर लम्बाइ तथा ९.८ मिटर चौडाइको छ । परियोजनाले १७ पुस ०६६ मा काठमाडौंको अनक सूर्य जेभीसँग ठेक्का सम्झौता गरेको थियो । पुल बनिसकेपछि स्थानीय खुसी भएका छन् । मेची खोलामा पुल नहुँदा स्थानीयले डुंगा प्रयोग गर्दै आएका थिए । भद्रपुर आसपासका बासिन्दाले घरमा चाहिने नुन, तेल, दाल, चिनी, माछा, मासु सबै भारतबाटै ल्याउने गरेका छन् ।

९ वर्षमा पूरा

०३२ सालमा स्थानीय व्यापारी मोहन अग्रवालले मेची पुल बनाउनकै लागि जनस्तरबाट पैसा संकलन अभियान चलाएर ३२ लाख रुपैयाँ राजा वीरेन्द्रलाई हस्तान्तरण गरेको जानकारहरू बताउँछन् । तर बनेन , पञ्चायतकालमा अञ्चल प्रशासक छिरिङ तेञ्जिङ लामाले दुईपटक मेची पुल शिलान्यास गरेको बताइन्छ । विजय गच्छदार भौतिक योजनामन्त्री भएका वेला ०६६ सालमा पुलको शिलान्यास गरेका थिए । उनले शिलान्यास गरेको नौ वर्षपछि बल्ल पुल तयार भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo