काठमाडौँ। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छिन्।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा(एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
यसैगरी कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेको निर्वाचन कार्यालयले जनाएको छ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा(एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेका थिए। यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेका थिए।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र )का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिए। यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा नेकपा(एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनको निकटतम् प्रतिष्पर्धी नेकपा(माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।





























प्रतिक्रिया