काठमाडौं । नेपालले अढाई वर्षमा पहिलो अन्तर्राष्ट्रिय रंगशाला पाउने भएको छ । त्यसको नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले गर्नेछ । अढाई वर्षमा हस्तान्तरण गरिसक्ने गरी बनाउँन लागिएको पहिलो गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण लागत ३ अर्ब रहेको छ ।
चितवनमा बन्न लागेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण जनस्तरबाट नै सहयोग जुटाएर गरिने धुर्मुस सुन्तली फाउण्डेशनको अध्यक्ष तथा यसका अगुवा सितारमा कट्टेल धुर्मुसले जानकारी दिए ।
पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत भएको छ ।

चितवनको भरतपुर महानगरपालिका १५ मा निर्माण हुने उक्त अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो।
गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका धुर्मुसको भनाई छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाएर रंगशाला बनाईने धुर्मुसको भनाई छ ।
यअघि धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए । सोही अनुभवको आधारमा रंगशाला बनाउने कार्यमा जुटेका हुन् ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ । उक्त रंगशाला आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गरेर बनाईने धुर्मुसको भनाइृ छ ।
अबको ६ महिनाभित्र गुरुयोजना तयार पारेर रंगशालाको शिलान्यास गरिने धुर्मुसको भनाई छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।
नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।
यसक्रममा भरतपुर महानगरले धुर्मुसलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकन र विश्लेषणपछि चितवनमा रंगशाला बनाउन धुर्मुस तयार भएका थिए ।































प्रतिक्रिया