वाग्मती सफाइ  महाअभियानको ३०० औँ हप्ताको तयारी तिव्र

वाग्मती सफाइ  महाअभियानको ३०० औँ हप्ताको तयारी तिव्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ३०० औँ हप्ता विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

शहरी विकासमन्त्रीको अध्यक्षतामा गठन भएको विशेष कार्यक्रम मूल समारोह समितिले सोमबार आयोजना गरेको छलफलमा वाग्मतीको शङ्खमूलमा विशेष कार्यक्रमको मुख्य कार्यक्रम गरिने जानकारी गराइयो ।

कार्यक्रममा मन्त्री मोहम्मद इश्तियाक राईले वाग्मती र यसका सहायक नदी उपत्यकावासीको आङ्गन भएकाले यसको सफा राख्ने कार्यमा सबै जुट्नुपर्ने बताउनुभयो ।

“सफाइको विषयलाई पाठ्क्रममै समेट्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिन्छ, राष्ट्र हाम्रो भएकाले सफाइको दायित्व पनि हाम्रै हो भन्ने जागरण फैँल्याउनुपर्छ, ३०० औँ हप्तासम्म वाग्मती सफाइ महाअभियानलाई निरन्तर सहयोग गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो ।

वाग्मती सफाइ महाअभियानको ४०० हप्ता पुग्नुअघि नै स्वच्छ पानी बगाउने प्रतिबद्धता मन्त्री राईले सो अवसरमा व्यक्त गर्नुभयो । चुरोट, खैनी, गुट्खा लगायत सूर्तीजन्य पदार्थ खाएर खोल सडकमा फाल्नेलाई दण्ड गर्ने व्यवस्था गर्न पहल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले हाल उपत्यकामा १२ र उपत्यकाबाहिर ९० स्थानमा स्वतःस्फूर्त रुपमा नदी एवं शहर सफाइ अभियान चलिरहेको बताउनुभयो । अभियान अन्तर्गत दश लाखभन्दा बढी अभियानकर्मीले स्वयंसेवकका रुपमा काम गरेको बताउँदै उहाँले १२ हजार मेट्रिक टन भन्दा बढी फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समुदाय अभियान अन्तर्गत वाग्मती लगायत नदी र शहर सफाइ अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नदी किनारमा उद्यान निर्माण लगायत राम्रा काम भएकाले अब ढल हाल्न नदिन सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले वाग्मती सभ्यताले नेपाललाई विश्वमा परिचित गराएकाले यसको संरक्षणमा सबैको दायित्व उत्तिकै रहेको बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय तह सञ्चालन ऐनअनुसार फोहर मैला व्यवस्थापन गर्नु स्थानीय तहको जिम्मेवारी भएकाले सरसफाइ समिति गठन गरेर काम गर्न निर्देशन दिइएको बताउनुभयो ।

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा वि.सं ०७३ फागुन २८ गते जारी घोषणापत्र कार्यान्वयनका लागि स्थानीय सरकारलाई परिपत्र गरिएको जानकारी पनि उहाँले दिनुभयो । काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले वाग्मती सफाइ महाअभियानको ३०० औँ हप्ता मनाउन सबै वडामा समिति गठन गरेर काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक माला खरेल, अभियानकर्मी डा राजु अधिकारी, ताराबहादुर कुँवर, आशा पाण्डे, चन्द्रप्रसाद दङ्गाल लगायतले हप्ता र विशेष अवसरमा मात्र नभई सबैले आआफ्नो स्थानबाट सधैँ सफाइप्रति जागरुक भएर काम गरे मात्र शहर, नदी र गाउँ सफा हुनेमा जोड दिनुभयो ।

महाअभियानको ३०० औँ हप्ता मनाउन मन्त्री राईका अध्यक्षतामा काठमाडौँका सबै नगरपालिकाका प्रमुखसहित १११ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको संयोजकत्वमा सचिवालय गठन भई तयारी भइरहेको जनाइएको छ ।
रासस

Logo