सांसद डा. सुनिलकुमार शर्माको नोबेल मेडिकल कलेज टिचिङ हस्पिलटलले २ सय प्रतिशत लाभांश बाँड्ने

सांसद डा. सुनिलकुमार शर्माको नोबेल मेडिकल कलेज टिचिङ हस्पिलटलले २ सय प्रतिशत लाभांश बाँड्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । संघीय सांसद डा. सुनिलकुमार शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

नोबेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिकक कम्पनी भएयता यो नोबेलको प्रथम वार्षिक साधारणसभा हो ।

कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकताअनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सोका लागि आवश्यक पर्ने स्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएका विभिन्न कम्पनी, अस्पताल र शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग लगायतका) विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसो त डा शर्माकै नेतृत्वमा नोबेलले सामाजिक उत्तरदायित्व अन्तर्गत लाखौँ बिरामीहरूलाई निःशुल्क स्वास्थ्य शिविरहरूमार्फत उपचार सेवा पुर्‍याइसकेको छ । डा शर्माले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका हिमाल, पहाड र तराईका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर गरिसकेका छन् ।

यो क्रम हाल सम्म निरन्तर रूपमा चली नै रहेको छ भने त्यस्ता शिविरमा जाँच गराइ थप उपचार गर्न आर्थिक रूपमा असमर्थ बिरामीहरूलाई नोबेल वा काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था समेत गरिदिँदै आएका छन् ।

अस्पतालमा उपचारका लागि आएका अतिविपन्न बिरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने, विपन्न बिरामीहरूलाई सहुलियतमा उपचार पुर्‍याउने कार्य गर्दै आएको छ । विगत १७ वर्षदेखि नोबेलले ओ‍‍‍‍पीडी दर्ता र चिकित्सक परामर्श सेवा निःशुल्क गरेको छ । डा शर्मा एकमात्र त्यस्ता सांसद हुन जसले सांसदले पाउने सुविधा नलिने घोषणा गरेका छन् । राज्यबाट एक रुपैयाँको सुविधा नलिई जनताको सेवामा लागिपरेका छन् ।

नोबेलले २०८१ सालको दशैँ र तिहारको बीचमा नोबेलमा कार्यरत चिकित्सक, शिक्षक र अन्य कर्मचारीहरू गरी ६० जनालाई ६ दिनको दुबई भ्रमण समेत गराएको थियो । यसअघि पनि प्रशासन, लेखा शाखाका २० जना कर्मचारीलाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरिसकेको छ ।

Skip This
Skip This
Logo