काठमाडौँ
अव्यवस्थित ढल निकासका कारण प्रदूषित बागमतीलाई पुनः पहिलेकै अवस्थामा फर्काउने उद्देश्यसहित शुरू भएको ढल तथा पर्खाल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले बाँकी काम पाँच महिनाभित्र सम्पन्न हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बागमती नदीमा गोकर्णदेखि सुन्दरीघाटसम्म दुबै किनारमा ढल तथा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने सुन्दरीघाटबाट धोबीघाटसम्म करीब चार सय पर्खाल निर्माण गर्न बाँकी छ । यो काम पाँच महिनाभित्र सम्पन्न गरिने छ ।”
बागमतीका सहायक नदी हनुमन्ते, मनहरा, विष्णुमती, धोवीखोला, बल्खु, नख्खु र कोटकु नदीमा भने निर्माण जारी छ । उहाँले भन्नुभयो, “विष्णुमती र बल्खुखोलामा ढल जोड्न बाँकी छ, यी दुई ठाउँमा ढल जोडिसकेपछि सुन्दरीघाटसम्म ढल निर्माण कार्य पूरा हुनेछ ।” गोकर्णदेखि धोबीघाटसम्मको कुल लम्बाइ २० किलोमिटर छ भने सुन्दरीघाटदेखि धोबीघाटसम्मको दूरी छ सय मिटर छ ।
यसका अतिरिक्त चक्रपथ आयोजनाका लागि चिनियाँ निर्माण कम्पनीद्वारा बाग्मती नदी किनारको सुन्दरीघाटमा निर्माण गरिएको क्याम्पका कारण चार सय मिटर दूरीमा ढल तथा पर्खाल निर्माणको कार्य अवरोध भएको जानकारी उहाँले दिनुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया