काठमाडौं । सुर्खेतको विरेन्द्रनगरमा दोस्रो संस्करणको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१’ को आयोजना हुने भएको छ । आइतबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुने भएको जानकारी दिइएको हो ।
कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली चलचित्र महोत्सव आयोजना गर्न लागिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
‘कर्णाली अपार सम्भावना भएको क्षेत्र हाे, त्यसलाई सिनेमामार्फत संसारभर चिनाउनु पर्छ भनेर यो महोत्सवको आयोजना गर्न लागेका हौं,’ उनले भने । ‘कर्णालीबाट वर्षमा ३ वटा चारवटा बनाउनुपर्छ भनेर लागिरहेका छौं ।’
चन्दका अनुसार फागुनको २४ गतेबाट उक्त महोत्सव सञ्चालनमा आउने छ । कर्णालीले चाह्याे भने देशलाई पाल्न सक्ने क्षमता राख्ने बताउँदै कर्णालीका विषयलाई समेटेर धेरै चलचित्रहरू पनि तयार गर्न सकिने उनले बताए । ‘नेपाली चलचित्रमा हुने कथा तथा विषय बस्तु प्राय उस्तै हुने गरेको पाइएको छ, तर, कर्णालीमा अनगिन्ती लुकेका कथाहरू छन्, त्यो कथामार्फत सिनेमालाई उजागर गर्नुपर्छ,’ उनले भने ।

प्रदेशलाई चिनाउने र छायांकनको गन्तव्य बनाउने महोत्सवको महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । उनले भने, ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौं । यो पहिलादेखि रोकिएको थियो । बैशाख एक गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरुलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।’
सो अवसरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवको सद्भावना दूतको रुपमा नियुक्त पनि गरिएको छ । कार्यक्रममा अभिनेता प्रदिप खड्का, अभिनेत्री सुरक्षा पन्तसहित अभिनेता शिव श्रेष्ठ लगायतको उपस्थिति थियो ।































प्रतिक्रिया