मेरिटका आधारमा तत्काल डिन नियुक्ति गर्न कुलपति ओलीको निर्देशन

मेरिटका आधारमा तत्काल डिन नियुक्ति गर्न कुलपति ओलीको निर्देशन

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय सञ्चालन गर्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा(नीति अधिबेशन) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जानकारी समेत गराए । बैठकमा उपस्थित सदस्यहरुले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरुको नियुक्तिमा ढिलाई भएको प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र सबै संकायका डिन र क्याम्पस प्रमुखहरु नियुक्ति गरिसक्न निर्देशन दिएका छन्।

कुलपति ओलीले त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमार्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय भएको बताए । प्रधानमन्त्री ओलीले भने, “त्रिविमा मेरिटोक्रेसी हुनुपर्छ भन्नेमा जोड दिएका छन् । उनले थपे “त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्नुपर्छ। त्यसका नाममा ड्रामा चल्नु हुँदैन। कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ। मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु।”

बैठकमा कुलपति केपी शर्मा ओलीले अबदेखि त्रिविमा प्राध्यापक हुन विद्यावारीधिले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यबस्था लागु गर्ने समेत जानकारी गराए। त्रिभुवन विश्वविद्यालयले आज नीति अधिवेशनले ११ बुँदे प्रस्ताव पारित गरेको छ। आज बसेको त्रिवि सभामा पेस भएका १२ बुँदामध्ये ११ प्रस्ताव पारित गरेको हो।

Logo