काठमाडौं । काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ।
मंगलबार राष्ट्रिय नाचघर जमलमा कलेजले आयोजना गरेको ‘ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१’मा प्रमुख अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल उपस्थित रहेका थिए ।
२०८० सालदेखि कलेजले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्दै आएको छ । कलेजले दोस्रोपटक आयोजना गरेको यस अभिनन्दन कार्यक्रममा शिक्षाविद् प्रा. मनप्रसाद वाग्ले, वरिष्ठ पत्रकार दिल भुषण पाठक, राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्र रमण खनाल अभिनन्दित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अभिनन्दित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गरे । उनले देशमै रहेका अवसरलाई प्रयोग गरेर यहीं स्वरोजगार हुन पनि विद्यार्थीलाई प्रोत्साहन गरे ।

यसैगरी कार्यक्रममा अभिनन्दित व्यक्तित्व शिक्षाविद् प्रा. वाग्लेले आफूलाई चीन, अमेरिकालगायत विभिन्न विकसित मूलुकका ठुला–ठुला विश्वविद्यालयबाट अफरहरु आएता पनि आफू विदेशी मोहबाट टाढा बसेको उदाहरण दिँदै गर्नेलाई नेपालमा अवसरहरुको कमी नभएको बताए ।

अर्का अभिनन्दित व्यक्तित्व वरिष्ठ पत्रकार दिल भुषण पाठकले अहिले पत्रकारिता पेसाको विश्वसनियता घटेकोमा गुनासाे गरे । नेपाली पत्रकारिता क्षेत्रमा फेक न्यूजको बाढी नै रहेको उनकाे भनाई छ ।
यस्तै, अभिनन्दित व्यक्तित्व राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्र रमण खनालले नेपाल श्रोत, साधन र सम्भावनाले भरिपूर्ण देश भएकाले यहाँ गरे जे पनि सफल हुने बताए । उनले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई इंगित गर्दै भने, ‘तपाईंहरुले सिकेको ज्ञान र सिपको सहि सदुपयोग यहीं गर्ने हो । तपाईं हामीले नै गर्ने हो ।’

यस कार्यक्रमबीच कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा पास भएका विद्यार्थीहरु बिदाई पनि गरेको छ । स्वागत तथा बिदाई र अभिनन्दन कार्यक्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए ।

स्थापनाकालदेखि नै विज्ञान ब्यवस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइराखेको यस कलेजले विभिन्न किसिमका अतिरिक्त कार्यक्रम गर्दै आएको छ।































प्रतिक्रिया