भेनेजुयलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले निकाले यस्तो विज्ञप्ती

भेनेजुयलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले निकाले यस्तो विज्ञप्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्ती मार्फत अमेरिकी हस्तक्षेपको विरोध गरिएको हो ।

अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको प्रचण्डको आरोप छ ।

‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’

‘हामी अमेरिका र अन्य राष्ट्रहरुलाई अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई सम्मान गर्न आग्रह गर्छौं,’ प्रचण्डले भनेका छन् ।

भेनेजुयलामा मे २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ खाएका हुन् । तर, उनलाई मानवअधिकार विरोधी भएको र अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।

यहीबीचमा विपक्षी नेता जुआन गुआइडोले बुधबार आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको छ । अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

Logo