नवनियुक्त डिन प्रा.डा. शर्माले जोगाउलान् त आइओएमको साख ? यी हुन् सुधार गर्नुपर्ने पक्ष

नवनियुक्त डिन प्रा.डा. शर्माले जोगाउलान् त आइओएमको साख ? यी हुन् सुधार गर्नुपर्ने पक्ष


काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएमको) डिन प्रा.डा. मोहनराज शर्मा नियुक्त भएका छन् । आइओएमको डिन नियुक्तिका लागि प्रा.डा. कृष्ण कुमार ओलीको संयोजकत्वका निवर्तमान डिन प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. मोहनराज शर्मा प्रा. सुधा बस्नेतको नाम सिफारिस गरेको थियो । त्रिवि कार्यकारी परिषद्को शनिवार बसेको सर्च कमिटी बैठकले सिफारिस भएको तीन जनाको नाममध्ये प्रा. डा. शर्मालाई डिनमा नियुक्त गरेको हो ।

विश्वविद्यालयको हरेक शैक्षिक संस्थामा राजनीतिले जरो गाडेको छ । त्यस्तै आइओएम पनि राजनीतिबाट अछुतो छैन । जसका कारण दिन प्रतिदिन आइओएमको साख खस्कँदै गएको छ । आइओएमका पदाधिकारीहरु लामो समयदेखि नेतृत्व गर्ने व्यक्ति राजनीतिक पार्टीसँग आवद्द नभए संस्थाको लागी काम गर्ने हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । यसैबीच अहिले कुनै पनि पार्टीसँग आवद्द नभएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा आइओएमका प्रा.डा. शर्मा डिनका रुपमा आएसँगै आइओएमको मुहार फेरिने विश्वास गरिएको छ । नवनियुक्त डिन प्रा. डा. शर्माले नियुक्ति पत्र लिएपछि काम अगाडि बढाउने केन्द्रबिन्दुलाई जानकारी गराए । आइओएम चिकित्सा शिक्षामा अब्बल सावित भएको संस्था हो तर पछिल्लो समय अध्यापनको अवस्था पनि खस्केको विद्यार्थीहरुको गुनासो छ ।

समयमै परिक्षा नहुनु, समयमै नतिजा प्रकाशन हुन नसक्नु, ५ वर्षको पढाईलाई ७÷८ वर्ष लाग्ने भएकाले विद्यार्थीको आकर्षण पनि खस्केको प्राध्यापकहरु बताउँछन् । आइओएममा समस्याको चाङ् लागेको छ भन्दा फरक नपर्ला ।

नयाँ नेतृत्व पाएसँगै आइओएम सकारात्मक ढंगले आफ्नै लयमा अगाडि बढ्ने विश्वास गरिएको छ । विशिष्ट नसा रोग विशेषज्ञ तथा आइओएमका पूर्व प्राध्यापक प्रा.डा. कृष्णकुमार ओलीले भने – ‘आइओएम समस्याले बिरामी परेको छ । प्राध्यापक डा. मोहनराज शर्मा आइओएमलाई राम्रोसँग बुझेको मान्छे हुनुहन्छ । उहाँलाई राम्ररी ज्ञान छ यो आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको संस्था हो । मलाई विश्वास छ, अब आइओएमको मुहार फेरिन्छ । उनले थपे, ‘आइओएमलाई जस्तो नेतृत्वको आवश्यकता थियो त्यस्तै व्यक्ति आउनु भएको छ ।’

शर्माले सुधार गर्नुपर्ने पक्षहरु

आइओएममा सिन्डिकेट सिस्टमले जरो गाडेर बसेको छ । सर्वप्रथम सिन्डिकेट प्रणालीलाई जरैबाट उखेलेर हटाउन जरुरी छ । यो प्रणालीको कारण आइओएममा राम्रालाई भन्दा पनि हाम्रालाई नियुक्ति गर्ने गरेको पूर्व प्राध्यापकहरु बताउँछन् । अन्य शिक्षण संस्थानबाट अध्ययन गरेर आएका जनशक्तिलाई आइओएममा काम गर्न त्यति सहज नभएको गुनासो पनि रहेको छ ।

स्वास्थ्यसँग सम्बन्धित संस्थामा अनुसन्धान पर्याप्त मात्रामा हुनुपर्छ तर आइओएममा अनुसन्धानको कमी छ । धेरैभन्दा धेरै विषयवस्तुमा अनुसन्धान गर्नका लागी आइओएम मात्र नभई सरकार पनि सकारात्मक हुनुपर्नेमा प्राध्यापकहरुले जोड दिएका छन् ।

आइओएममा अध्यापनका लागी होस् या सेवा प्रवाहका लागी होस् भौतिक पूर्वाधार अपर्याप्त रहेको छ ।

त्रिवि शिक्षण अस्पताल स्वास्थ्य उपचारको लागी अब्बल मानिन्छ । दुरदराजबाट स्वास्थ्य उपचारका लागी आउनेहरुका लागी पहिलो रोजाइमा पर्छ । तर कतिपय सुविधा उपलव्ध नहँुदा विरामीहरुले महंगोमा शल्क तिरेर निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।

८ वर्षमा बनेको सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर सञ्चालनमा आएको झण्डै तीन वर्ष भैसकेको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्र्ने उदेश्यले बनेको क्यान्सर सेन्टरमा सबैभन्दा महंगो पर्ने रेडियो थेरापीको नै व्यवस्था छैन । रेडियो थेरापीको व्यवस्था नहुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।

यावत् समस्याको समाधान गर्ने जिम्मा अव नवनियुक्त डिन प्रा.डा. शर्मालाई छ । उनमा आइओएमका पदाधिकारी, प्राध्यापक, विद्यार्थी र आम सर्बसाधारणले संस्थानको साख जोेगाउनमा ठूलो अपेक्षा राखेका छन् । यद्यपी उनको कार्यकाल कस्तो रहला ? त्यो भने हेर्न बाँकी नै छ ।

Skip This
Skip This
Logo