स्मार्टसिटी: चुनावी मसला मात्रै कि वास्तविकता पनि ?

स्मार्टसिटी: चुनावी मसला मात्रै कि वास्तविकता पनि ?

केन्द्रबिन्दु
0
Shares

पछिल्ला केहि वर्ष यता स्मार्टसिटीका कुरा धेरै सुनिएका हुन् । अझ चुनावको समयमा त यसको चर्चा यति भयो कि साँच्चै नै अब नेपाल विकसित देशको सुचिमा पुग्नेछ वा पुगिसक्यो झैं लाग्ने गरि । समय अनुसार स्मार्टसिटीको आवश्यकता र सोच पक्कै पनि राम्रो हो । यसलाई अन्यथा नसोचौं तर स्मार्टसिटी भनेको के हो ? के भयो भने त्यसलाई स्मार्टसिटी भनिन्छ भन्ने सम्म जानकारी नभएकाहरु नै यसको नारा बोकेर सडकमा आएको देख्दा भने साँच्चै नै स्मार्टसिटी भनेको कुन चराको नाम हो भनेर धेरैले आआफ्नो तर्फबाट सोच्न थाले तर जसले अहिले सम्म यसको बारेमा थोरै पनि बुझेका छैनन् , तीनै मानिसहरुले स्मार्टसीटीको गफ चुट्दै हिंडेको पनि देखियो । यसलाई भने आश्चर्य नै मान्नु पर्ने अवस्था छ ।

खासमा के हो स्मार्टसिटी, यस विषयमा धेरैजसो नागरिक अनभिज्ञ नै रहेको पनि पाइएको छ । यहाँ सम्मकी नेता र मन्त्री भनिएकाहरु पनि उस्तै अवस्थामा छन् । त्यसो भए के हो त स्मार्टसिटी ? के नेपालको सन्दर्भमा यो सम्भव छ त ? यस आलेखमा यस विषयमा खोतल्ने प्रयास गरिएको छ ।

स्मार्टसिटी भनेको सेवासुविधा र सुचनाप्रविधिले भरिपूर्ण भएको शहर हो । सामान्य अर्थमा यसलाई यसो भनेर परिभाषित गरिए पनि यतिले मात्र स्मार्टसिटी बन्न सक्दैन । प्रविधिहरुको धेरै भन्दा धेरै उपयोग गरेर जनतालाई सूसुचित बनाइ नयाँ शहर विकास गर्नका लागि स्मार्टसिटीको अवधारणा ल्याइएको हो । नेपालको सन्दर्भमा सन् २०१२ मा लुम्बिनीलाई स्मार्टसिटी बनाउने सोचका साथ यसको अवधारणा अघि सारिएको थियो । लुम्बिनीलाई शान्तिक्षेत्र घोषणा गरि यहाँ विश्वका विविध सुचनाप्रविधिहरुको विकास गर्दै स्मार्टसिटी बनाउने त्यतिबेला बताइएको थियो । जुन कुरा समय सन्र्दभ अनुसार उपयुक्त त मानियो तर त्यसका लागी के जरुरी पर्छ वा नेपालले स्मार्टसिटीको मुल्य मान्यतालाई पुरा गर्न सक्ने अवस्था छ कि छैन भनेर आज सम्म पनि अध्ययन गरिएको छैन । यसलाई कसरी हेर्ने ?

आर्थिक वर्ष ०७२÷७३ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको कार्यकालमा उपत्यकामा स्मार्टसिटीको अवधारणा सार्वजनिक गरिएको भएपनि ०७४ को स्थानिय चुनावमा अधिकांश राजनितीक दलहरुले यस मुद्दालाई अघि सारे । जसको अग्रपंक्तिमा काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य थिए । अरुले पनि उनको सिको गरे । यहाँ बुझ्नु पर्ने कुरा के छ भने स्मार्टसिटी नेपालको लागि आवश्यक छ , राजनितीक दलहरुले अघि सारेको नारा ठिक पनि हो तर विडम्बना विगत ७ वर्षदेखि सुनाइएको नाराको आजका दिन सम्म पनि अध्ययनसमेत भएको छैन । अध्ययन नै नभइ सस्तो लोकप्रियताको लागी अघि सारिएको राजनितीक नारालाई फगत चुनावी मसला भन्दा अरु के भनेर बुझ्ने ? यस्ता दलहरुबाट देश र जनताले कस्तो अपेक्षा गर्ने लगायतका प्रश्न नागरिकको मनमा उठिरहेका छन् तर जवाफ पाइने निकाय छैन ।

सस्ता नारा फलाक्नेहरुले नै अहिले सम्म स्मार्टसिटीका लागि के–कस्ता पूर्वाधारहरु चाहिन्छ भन्ने सम्म मेलो मेसो पाउन सकेका छैनन् । अहिलेसम्म स्मार्टसिटी निर्माणबारे परामर्शदाताहरुको सुझाव पनि नआएको अवस्थामा वडासदस्यदेखि प्रधानमन्त्रीसम्मबाट स्र्माट सिटीको चर्चा व्यापक हुन थालेको धेरै भयो । यो विषय कतिको जायज वा हाँस्यास्पद छ त्यो त उनीहरु नै जानुन् । तर यो बुझ्न जरुरी छ कि नयाँ सोच र संरचनामा स्मार्टसिटी बन्न सरकार, प्रशासन संयन्त्र, सेवा–सुविधा, सुशासन, चुस्त प्रविधि, आर्थिक सम्पन्नता र सचेत आमजनता हुन नितान्त जरुरी छ । यी कुराहरु नेपालको सन्दर्भमा कति हदसम्म पुरा भएका छन् भन्ने अध्ययन गर्न सके मात्र स्मार्टसिटीका कुरा अघि सार्न सकिएला । सरकारको पछिल्लो योजना अनुसार राजधानी भित्र काठमाडौं, ललितपुर र भक्तपुर जोड्ने गरी ४ स्थान र राजधानी बाहिर पालुङटार, निजगढ, लुम्बिनी लगायत १० स्थानमा स्मार्टसिटी बनाइने छ ।

विश्वको सन्दर्भमा कुरा गर्ने हो भने अत्याधुनिक सुविधाले भरिपूर्ण शहरहरुलाई स्मार्टसिटी भन्ने गरिएको छ । जहाँ सुचनाप्रविधिको उच्च विकास भएको होस् । सबै ठाउँमा विजुली, टेलिफोन, इन्टरनेट, सडकयातायात, खानेपानी लगायतका अत्यावश्यक वस्तुहरुको चौविसैघण्टा सहजीकरण हुन सकोस् । नागरिकले यस्ता कुनैपनि वस्तुको अभाव भोग्न नपरोस् । तर नेपालमा यी वस्तुको सम्पूर्ण सुविधा पुगेको शहर एउटा पनि छैन । भएका पनि सदुपयोग गर्न नजान्ने परिपाटीलाई कसरी स्मार्ट सिटीसँग तुलना गर्ने ? उदाहरणका लागी नेपालमा सुचनाप्रविधीको विकास अन्यक्षेत्र भन्दा अलि वढी भएको छ तर त्यसको सदुपयोग भन्दा दुरुपयोग वढी भएको छ । सामाजिक संजाल अरुलाई गाली गर्ने अखाडो जस्तै भएका छन् । यस्तो अवस्थामा कसरी सोच्न सकिन्छ स्मार्टसिटी ?

सरकारले पनि आफूलाई समय अनुसार प्रविधिसँग चलाउन सक्नु पर्छ । अन्यथा भाषणले मात्र केहि हुनेवाला छैन । प्रविधीलाई चलाउने कानुन अभावमा नेपालमा ड्रोन अझै अवैध छ । भर्खरै मात्र चर्चामा आएको मोवाइल एप्स टुटल र पठाओलाई बन्देज गरिएको छ । कारण हो यिनीहरुलाई चलाउन कानुन अभाव छ रे , त्यसो हो भने स्मार्टसिटीका कुरा किन गर्ने त ? यसका लागी पनि त कानुन अभाव नै होला नि त ? समय अनुसार कानुन परिमार्जन गरि भित्रिएका प्रविधिलाई चलाउन नसक्नेले स्मार्टसिटीका ठूला गफ किन छाँट्नु ? यतिबेला नागरिक यस्तै अड्कल र अनुमान गरिरहेका छन् ।

हुन त नागरिकमा पनि चेतना छैन । आकाशेपुल मुनिबाट बाटो काटिरहेका हुन्छन् । डस्टबिन सडकमा खाली हुन्छ तर हामी फोहोर चैं सडकमै फाल्छौं , ५ तला माथीबाट सडकमा फोहोर फालेर बाटो हिंडीरहेका अन्य मानिसको टाउकोमा जब सम्म फोहोरका झोला खस्न छोड्ने छैनन् , के स्मार्टसिटीका कुरा गर्नु र ? ट्राफिक नियमको पनि त हामी उत्तिकै उल्लंघन गर्छौं नि , जता मन लाग्यो त्यतै सवारी साधन पार्किङ गर्छौं । जहाँबाट मन लाग्यो त्यतैबाट सवारी मोड्छौं , ओभरटेक गर्छौं । दुर्घटना गराएर फरार पनि हुन्छौं । के यस्तो पाराले स्मार्टसिटी बनाउन सकिएला त ?

विश्वका विकसित स्मार्टसिटीहरुमा उच्च सुविधायुक्त प्रविधिहरु जडान गरिएका छन् । उदाहरणको लागी सिङ्गापुर पहिलो स्मार्टसिटी हो । यहाँ स्मार्टसिटीका लागि सबै प्रविधि जडान गरिएको छ । टेक्नोलोजी प्रयोग र उर्जा इर्नजी तथा खानेपानीको राम्रो सुविधा पनि छ । ट्राफिक जाम, वातावरण प्रदुर्षण, पार्किङ्गको समस्या लगायतबाट सिंगापुर मुक्त छ । यसका साथै चोक चोकमा सिसिटीभीहरुको जडान त गरिएको छ नै चौविसै घण्टा इन्टरनेटको निःशुल्क व्यवस्था पनि गरिएको छ । वायरलेस विजुली सेवा, रोड सेन्सर, स्मार्ट पार्किङ्ग तथा उच्च प्रविधि सहितको ट्राफिक बत्तीहरु जडान गरिएका छन् ।

ब्रोडब्यान्डको यति राम्रो सुविधा छ कि १० जिबीपीएसको नेट निःशुल्क उपलब्ध गराइएको छ । प्रत्येक १० जना नागरिक मध्ये ८ जनासँग सेलफोन छ । अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत आइटिमा पनि सिंगापुर पहिलो नम्बरमा छ । यसकारण आज विश्वमै यो शहर स्मार्टसिटीको उत्कृष्ट गन्तव्य बनेको छ । यसका साथै वार्सीलोना, सिओल, सनफ्रान्सिस्को र जापानको टोकियो लगायतका शहर स्मार्ट सिटी भित्र अटाएका छन् । यसर्थ नेपालका कुन चाहिं शहर यी शहरसँग तुलना गर्न सकिएला हामी आफैं सोचौं ।

नेपालका अरु शहरको कुरा छोडौं , यतिबेला राजधानी काठमाडौंकै मात्र कुरा गर्ने हो भनेपनि कति संकटपूर्ण दैनिकी गुर्जान बाध्य छन् नागरिक त्यो शायद भनिरहनु नपर्ला । धुँवा, धुलो, प्रर्दुषण र हिलो सामान्य छ यहाँ । यति मात्र होइन, सडकमा टाँगीएका विजुलीका पोलहरुमा असरल्ल रुपमा झुण्डिएका तारहरु, अस्तव्यस्त बजार व्यवस्थापन, खाल्डाखुल्डी सडकहरु , अभाव र महंगी, नाम मात्रको खानेपानी संस्थान, घुसखोरी सरकारी कार्यालय, अनियमितता अनि भष्ट्राचारयुक्त समाज । हत्या, हिंशा, बलात्कार, छुवाछुत, अशिक्षा अनि नागरिकमा चेतनास्तर गिर्दो अवस्था, के यी स्मार्टसिटीका चुनौती होइनन् र ? यस्ता कुराहरुमा कहिले सुधार होला र नेताहरुले भने जस्तो समृद्ध र स्मार्टसिटीको सपना पुरा होला ? भने जस्तो छैन कार्यान्वयन गर्न त्यसका लागि तत्परता, क्षमता र सार्मथ्य पनि चाहिन्छ ।

यी कुराहरुमा सुधार गरि अघि वढ्ने हो भने असम्भव पनि छैन । समयको फेरिंदो अवस्थासँगै सरकारले पहिले यी समस्याहरुलाई पन्छाएपछि मात्र स्मार्टसिटीको अवधारणा अघि सारेको भए शायद यति धेरै शंका र आलोचना खेप्नु पर्ने नै थिएन कि ? अब सरकारले यतातिर पनि सोच्न ढिला गर्नु हुँदैन ।

Skip This
Skip This
Logo