काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौं महानगरले शोक विदा दिएको छ । नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन । उनी गणेशमान सिंहका धर्मपुत्र हुन् । उनी २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
काँग्रेसले पछिल्लो समय लिएको नीतिप्रति उनले असहमति राख्दै आएका थिए । २०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दवावमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए। उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।































प्रतिक्रिया