फाइनलमा पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

फाइनलमा पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्ससामू सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा जनकपुरले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११८ रन जोडेको हो । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन जोडे । २० बल खेलेका उनले एक चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यसअघि ओपनर देव खनालले २० बलमा ३ चौका र एक छक्काको मदतमा २४ रन जोड्दा विलियम बोसिस्टोले १४ रन, जिसन मक्सुदले १२ रन, चाडविक वाल्टनले ११ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्तिममा आएका युनिश ठकुरीले १७ बल खेले, तर १२ रन मात्रै जोड्न सके ।

बलिङतर्फ ललित राजवंशी, जिमी निशम र मोहम्मद मोहसिनले समान २ विकेट लिए । उनले १६ विकेट लिएका छन् । उनले अब जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सुदूरपश्चिम रोयल्सका फाष्ट मिडियम बलर स्कट कुगेलेइनसँग बराबरी गरेका हुन् । स्कटले ८ खेलमा सर्वाधिक १६ विकेट लिएका छन् । जसमा पोखराविरुद्ध एकै खेलमा ५ विकेट पनि समावेश छ ।

यसैगरी हर्ष ठाकर र शेर मल्लले एकएक विकेट लिए ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो । कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Logo