काठमाडौं । लाहिरु मिलान्थाको सानदार इनिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको सानदार जित दर्ता गर्दै जनकपुरले उपाधि उचालेको हो ।
यसअघि लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टोली भिड्दा सुदूरपश्चिमले बाजी मारेको थियो । लिग चरणको १८औँ खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो । तर, आज जनकपुरले बदला लिएको छ । पछिल्ला खेलमा खराब ब्याटिङ गरिरहेको जनकपुरले आज जादू छरेको थियो भन्दा फरक पर्दैन । पावर प्लेमै ७१ रन जोडेको थियो ।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान गरे । उनी शतकबाट चुके तर, टोलीका लागि निकै महत्वपूर्ण खेले । ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
साथै अर्का ओपनर एवं कप्तान आशिफ शेखले १९ बलमा ३३ रन प्रहार गर्दा हर्ष ठाकर ३० रनमा अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमको आज केही चलेन । जब खेल हातबाट फुत्कियो त्यतिबेला विकेट झार्न सफल भयो । टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिँदा एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्ने र त्यतिमा विपक्षीलाई रोक्न सक्ने बताएका थिए । उनले भनेअनुसार त्यो भन्दा रन त बन्यो तर, विकेट लिन सकेनन् । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत गरे । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।
सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए ।
अब उपाधि विजेता जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले रु ५१ लाख प्राप्त गरेको छ । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया