काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट डा. शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताएका छन् ।
मुलुकको आमुल परिवर्तनमा डा. कोइरालाको लगानी रहेको भन्दै उनले पूर्वको कोइराला परिवारबाट ल्याएको नासो सुदूरपश्चिमबाट फेरि पूर्व फर्काउँदै उनलाई सभापति बनाउन अपील गरेका हुन् ।
शनिबार धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै डा. शर्माले यस्तो बताएका हुन् ।
डा. शर्माले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्त्वपूर्ण सदस्य डा. शेखरलाई पन्ध्रौँ महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको बताएका छन् ।

धनगढी विमानस्थलमा सूदूरपश्चिमका नेता तथा कार्यकर्ताले गरेको स्वागतले उत्साहित बनाएको भन्दै डा. शर्माले भने, ‘कृष्णप्रसाद कोइरालाको हजारौँ बिघा जमिन राणाले खोस्दा पनि उहाँ प्रजातन्त्रका लागि लड्नुभयो । यो जनलहर डा. कोइरालाको पक्षमा बढ्दै जान्छ । सूदुरपश्चिमको यो जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्छ ।’ साथै उनले अब अरू ५ प्रदेशहरूमा पनि यस्तै कार्यक्रम लिएर अघि बढ्ने बताए ।

प्रजातन्त्रको स्थापनाका लागि लडेको कोइराला परिवार र त्यही परिवारका सदस्य रहेका डा. कोइरालाले कांग्रेसको अबको नेतृत्व सम्हाल्नुपर्ने आवश्यकता आइपरेकोले सूदुरपश्चिमका नेता तथा कार्यकर्ताले डा. कोइरालालाई सभापति बनाउन साथ दिनुपर्ने डा. शर्माले बताए ।































प्रतिक्रिया