रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबी, अन्यलाई कति ?

रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबी, अन्यलाई कति ?

केन्द्रबिन्दु
168
Shares

गण्डकी । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए ।

उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दायर गरिएको हो ।

प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि आजै मुद्दा दर्ता भएको छ । सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगी, सङ्गठित अपराधन र सम्पत्ति शुद्धीकरणको कसुरमा विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए । उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo