काठमाडौँ । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गायिका समीक्षा अधिकारी युरोपेली मुलुक पोल्यान्ड पुगेकी छिन् । उनले त्यहाँ साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने छिन् ।
एनआरएनए पोल्याण्डको सहयोग, नेपालीज लिभिङ इन ब्रोस्वावको आयोजना तथा मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको प्रस्तुतिमा डिसेम्बर २३ तारिखमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको संयोजक दिपेन्द्र अधिकारीका अनुसार कार्यक्रम ब्रोस्वावस्थित चेरी क्लबमा आज राति ९ बजेबाट सुरु हुनेछ । ब्रोस्वाव धेरै नेपाली रहेको पोल्यान्डको चौथो ठूलो सहर हो ।
‘म आइसकेकी छु । पोल्यान्डमा रहनुभएका सबै नेपालीहरू कार्यक्रममा आउनुहोस् है, रमाउनु पर्छ ।’ पोल्यान्ड अवतरण भए पछि समीक्षाले भनिन्।

गायिका समीक्षा अधिकारीका साथमा पोल्यान्डमा रहेका स्थानीय नेपाली तथा पोलीस कलाकारको समेत प्रस्तुति रहने छ। कार्यक्रममा ४ सयबढीको उपस्थिति रहने अपेक्षा अनुसारको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । पोल्यान्डमा रहेका नेपाली समुदायलाई उपस्थित भइदिन आयोजक संस्था ‘नेपालीज लिभिङ इन ब्रोस्वाव’को तर्फबाट कार्यक्रम संयोजक अधिकारीले अनुरोध गरेका छन्।
गायिका अधिकारी पछिल्लो समयमा नेपालकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका साङ्गीतिक कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै बहराइनमा आफ्नो प्रस्तुति दिएर स्वदेश फर्किएकी उनले आज आफ्नो साङ्गीतिक प्रस्तुतिद्वारा पोल्यान्ड तताउने भएकी हुन् ।





























प्रतिक्रिया