आर्थिक संकट झेल्दै नेपालका विश्वविद्यालय, कुनले गर्छन् वर्षमा कति आम्दानी ?

आर्थिक संकट झेल्दै नेपालका विश्वविद्यालय, कुनले गर्छन् वर्षमा कति आम्दानी ?


काठमाडाैं । नेपालका विश्वविद्यालयहरुको आर्थिक अवस्था दयनीय बन्दै गएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार विश्वविद्यालयको आर्थिक आम्दानी हेर्ने हो भने आन्तरिक आम्दानीले ५० प्रतिशत पनि खर्च धान्न नसक्ने अवस्था छ ।

कतिपय विश्वविद्यालयहरुले त आर्थिक आयस्रोतका लागि धमाधम सम्बन्धन दिइरहेका छन् भने कतिपय विश्वविद्यालयमा आर्थिक अभावका कारण शिक्षालाई प्रभावकारी बनाउन नसकेको, पर्याप्त मात्रामा भौतिक संरचना निर्माण गर्न नसकेको, कोटा अनुसार प्राध्यापक पदपूर्ति समेत गर्न नसकेको गुनासो छ ।

आज हेरौं, नेपालका कुन विश्वविद्यालयको आम्दानी कति छ ?

त्रिभुवन विश्वविद्यालय

देशको सबैभन्दा जेठो तथा ठुलो विश्वविद्यालय उच्च शिक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरि प्रविधिको सिपको विकास गर्न त्रिभुवन विश्वविद्यालय र यस विश्वविद्याय अन्तर्गतका अनुसन्धान केन्द्रहरुले महत्वपूर्ण भूमिका खेल्छन् । वि.सं. २०१६ साल मा स्थापना भएको त्रिवि अन्‍तर्गत ९ वटा अध्ययन संस्थान, ४ संकाय , ४ अनुसन्धान केन्द्र, ६३ वटा आंगिक क्याम्पस, ४० वटा केन्द्रिय विभाग, ४ स्कुल र १ हजार ५४ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा रहेका छन् ।

महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार पूर्वाञ्चल विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र खुला विश्वविद्यालयभन्दा तुलनात्मक रुपमा हेर्ने हो भने ति सातवटा विश्वविद्यालयको आम्दानीभन्दा त्रिविको आम्दानी चार गुणा बढी देखिएको छ ।

महालेखाको प्रतिवेदनअनुसार त्रिविको आम्दानी ११ अर्व ४७ लाख रहेको छ ।

त्यसैगरी विश्वविद्यालयलाई सरकारी अनुदान १३ अर्व ८७ करोड १० लाख पाएको छ । त्रिविले जम्मा ७६.५८ प्रतिशत खर्च गरेको छ । आन्तरिक आयको ४५.५४ प्रतिशत मात्र खर्च धान्न सकिने देखिएको छ । तुलनात्मक रुपमा अन्य विश्वविद्यालयको भन्दा आम्दानी बढि भए पनि खर्च धान्न नसक्ने अवस्था त्रिविको छ । शिक्षक कर्मचारीको तलव र अन्य खर्च बाहेक अवकास प्राप्त कर्मचारीहरुले निवृत्तभरण पाउने कर्मचारीको सङ्ख्या ६ हजार ८ सय ३५ जना रहेको छ । निवृत्त भरणको खर्च बर्षैनी बढेको देखिन्छ । २०७७/७८ मा २ अर्व ८५ करोड ८ लाख खर्च भएको थियो भने एक वर्ष पछि उक्त खर्च बढेर ३ अर्व ४१ करोड, ६३ लाख पुगेको देखिन्छ ।

पोखरा विश्वविद्यालय

उच्च शिक्षामा निजी क्षेत्रको सहभागिता वृद्धि गरी प्राविधिक तथा अन्य व्यावसायिक विषयमा गुणात्मक विकास गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना १९९६ मा स्थापना भएको हो ।

पोखरा ४५ प्रतिशत सम्बन्धन शुल्क, २५ प्रतिशत विद्यार्थी शुल्क, ११ प्रतिशत आन्तरिक स्रोत, ४ प्रतिशत अस्पताल र अन्य स्रोत बाट आम्दानी हुन्छ भने विश्वविद्यालय अनुदान आयोगले १५ प्रतिशत मात्र आर्थिक स्रोत उपलव्ध गराउँदै आएको छ ।

पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा. दिपकबहादुर भण्डारीले भने– ‘सरकार अथवा विश्वविद्यालय अनुदान आयोगले जति अनुदान दिने हो, त्यो पोखरा विश्वविद्यालयलाई अत्यन्त न्युन छ । सरकारले जति अनुदान दिएको छ त्यसमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिँदैन । त्यसैले हामीले आर्थिक आम्दानी गर्नका लागी निजी क्षेत्रलाई दिने सम्बन्धन बढाउनुपर्ने बाध्यता छ ।’

उनका अनुसार सम्बन्धन दिने सवालमा पनि राज्यको स्पष्ट नीति छैन । पोखरा विश्वविद्यालयमा आजको आवस्यकता अनुसारको कार्यक्रम भएता पनि देशभर सेवा दिन नसकेको उनले बताए । पोखरा विश्वविद्यालयलाई उत्कृष्ट बनाउन विश्वविद्यालयको आम्दानी मात्र पर्याप्त नभएकाले सरकारले अनुदान बढाउनु पर्नेमा उनकाे जोड छ।

चार आंगिक र देशभर ५० भन्दा बढी सम्बन्धन प्राप्त महाविद्यालयहरू रहेको यस विश्वविद्यालयको आम्दानी भने न्यून रहेको महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनले देखाएको छ । विश्वविद्यालयको आन्तरिक आम्दानी १ अर्व ६१ करोड ३८ लाख ८१ हजार रहेको छ । सरकार बाट विश्वविद्यालयले २२ करोड ७ लाख ६५ हजार अनुदान पाएको थियो भने आन्तरिक आम्दानी बाट विश्वविद्यालयले ६४ करोड, ४७ लाख, २५ हजार खर्च गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय

कला, विज्ञान, चिकित्साशास्त्र लगायत विभिन्न विधाका विषयमा अध्ययन, अध्यापन र अनुसन्धानद्धारा दुर्गम क्षेत्रमा गुणस्तरिय शिक्षा पुर्याउने उदेश्यले सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको हो । यस विश्वविद्यालयअन्तर्गत ६ संकाय, १५ आङ्गिक क्याम्पस, २ कार्यालय र ६ विभाग रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी भन्दा बढी खर्च गरेको महालेखाको प्रतिवेदनबाट देखिन्छ । सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक आम्दानी भनेकाे विद्यार्थीबाट लिने शुल्क मात्र हो ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक यज्ञराज पाठकले विश्वविद्यालय अनुदान आायोगले उपलब्ध गराउँदै आएको अनुदानले प्राध्यापक, कर्मचारीहरुलाई तलव दिन मात्र पुग्ने बताए । उनले भने– ‘आर्थिक स्रोत पर्याप्त नहुँदा हामीले दरवन्दी अनुसार प्राध्यापक कर्मचारीहरुको व्यवस्थापन गर्न सकेका छैनौं । हाम्रो विश्वविद्यालयमा चिकित्साशास्त्र र कृषि संकाय राम्रो छ । विद्यार्थीको संख्या पनि राम्रो छ तर पर्याप्त भौतिक पूर्वाधार छैन । आर्थिक स्रोत नहुँदा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौं । हामीले धेरै पटक सरकार संग आग्रह गरे सरकारले बेवास्ता गर्दै आएको छ । जसोतसो विश्वविद्यालयको कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

सुदरपश्चिम विश्वविद्यालयको आन्तरिक आम्दानी कुल ८६ लाख ९३ लाख ५ हजार रुपैयाँ रहेको तथ्यांकले देखाउँछ । त्यसैगरी विश्वविद्यालयलाई सरकार बाट ४३ करोड, ८२ लाख, ७९ हजार अनुदान प्राप्त भएको छ । जसमध्ये १ अर्ब, १ करोड, २८ लाख ९ हजार रुपैयाँ यस विश्वविद्यालयले खर्च गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय

प्रतिष्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न तथा स्वास्थ्य शैक्षिक संरचनाको विकास गर्न कला, विज्ञान, प्रविधि, कानुन, व्यकस्थापन, शिक्षा लगायत अध्ययन , अध्यापन, र अनुसन्धान गर्ने उदेश्यले यस विश्वविद्यालयको स्थापना भएको हो । कोशी प्रदेशको विराटनगरमा रहेको यो विश्वद्यिालयले ९० करोड ९५ लाख ४५ हजार आम्दानी गरेको छ । नेपाल सरकारबाट प्राप्त २१ करोड अनुदान गणना गर्दा यस विश्वविद्यालयले कुल ९० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस विश्वविद्यालयले ६४ करोड ९८ लाख २२ हजार खर्च गरेको तथ्यांकले देखाउछ । यस विश्वविद्यालय अन्तर्गत ९ आङ्गिक र ११७ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । ती क्याम्पसहरू मार्फत् यस विश्वविद्यालयले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयले तुलनात्मक रुपमा आम्दानी कम गरेको भएता पनि आर्थीकभार न्युन रहेकाले विश्वविद्यालयको खर्च धानेको देखिन्छ ।

नेपाल खुला विश्वविद्यालय

नेपाल खुला शिक्षा प्रणालीद्धारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने/गराउने उद्देश्यले यो विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो । वि. सं. २०७३ सालमा स्थापना गरिएको यस विश्वविद्यालयले देशको कुनै पनि भौगोलिक क्षेत्रका रहेका औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्ने अनलाइनको माध्यम बाट शिक्षा प्रदान गर्ने गर्छ ।

यो विश्वविद्यालयले सरकारबाट प्राप्त १० करोड २८ लाख रुपैयाँ र आन्तरिक तर्फ गरी कुल आय ७४ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये यस विश्वविद्यालयले ८ करोड ३८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।

भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

यो विश्वविद्यालय नेपाल सरकारद्धारा प्रस्तावित नयाँ विश्वविद्यालय हो । देशको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा नयाँ ज्ञान र प्रविधिको सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो । यो विश्वविद्यालयले नेपाल सरकारबाट प्राप्त ३ करोड ५० लाख रुपैयाँ र आन्तरिक ६४ करोड ५७ लाख १२ हजारमध्ये २७ करोड ३१ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय

अध्यापन र अनुसन्धानद्वारा सबै क्षेत्रका जनतालाई गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर सुलभ रूपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बहुविश्वविद्यालयको अवधारणाअनुरूप प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउन नेपाल सरकारको लगानीमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना गरिएको थियो ।

सरकारबाट प्राप्त ४२ करोड ५१ लाख १७ हजार रुपैयाँ, गत वर्षको बचत १३ करोड ८३ लाख ९६ हजार र आन्तरिक आय १ करोड ९ लाख ३ हजार गरी कुल आय ५७ करोड ४४ लाख १६ हजार रुपैयाँ यस विद्यालयले आम्दानीका रुपमा देखाएको छ । यस विश्वविद्यालयले कुल ५७ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च गरको छ ।

Logo