जाडोमा स्किन केयरः तातो पानीले नुहाउँदा र हिटरमा बस्दा समस्या, सुगन्धित साबुनले नुहाउन मिल्छ ?

जाडोमा स्किन केयरः तातो पानीले नुहाउँदा र हिटरमा बस्दा समस्या, सुगन्धित साबुनले नुहाउन मिल्छ ?

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । डा. अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश वर्षदेखि सरकारी मेडिकल अफिसरको रूपमा सक्रिय डा. श्रेष्ठ शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् ।

छाला रोग विशेषज्ञका रुपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धी समस्या र समाधान साथै जाडो याममा छाला सम्बन्धी समस्यालगायतका विषयमा गर्एिको कुराकानी यस्तो छ ।

जाडो महिनामा बढी मात्रामा स्किन केयर गर्नु किन आवश्यक छ ?
स्किन केयर दैनिक जीवनमा एकदमै महत्त्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनै पनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरुभित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भयो भने कपालहरु झर्ने, ओठको वरीपरि घाउ आउने गर्छ । त्यस्तै, धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुवी जस्ता समस्याहरु छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ ।

स्किन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्किन केयर केका लागि महत्वपूर्ण छ ?
स्किन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्नु हुँदैन । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरु छन् । बच्चाहरुको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरुको आफ्नै पाटो छ । यस्तैगरी यौन सञ्चारित रोक (एसटीआई) अर्थात् यौनिक रोगहरुको पनि छालामा नै असरहरु देखिन्छ । यी सबै कुराहरुले हेर्दा स्किन केयर एकदमै महत्वपूर्ण हुन्छ ।

यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रीन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरु प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरु हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पुरै ज्यानलाई नै भन्न मिल्दैन, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चायाँपोतो नआओस् भन्नको लागि, डन्डिफोरको दागहरु नबसोस् भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ ।

जाडो महिनामा नै धेरै स्किनमा समस्याहरु किन देखिन्छ ?
जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौँ, यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरुको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरु सुख्खा हुने र विभिन्न समस्याहरु निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ ।

नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।

जाडोमा कुन उमेर समूहको मानिसको स्किनमा बढी असर हुन्छ ?
चिसोले बुढाबुढी र युवाहरुलाई बढी असर गर्छ । बच्चाहरुको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरुको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरु कम हुँदै जान्छ । त्यही भएर जति उमेर भयो त्यति ड्राइनेशहरु बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्किन भनेको दुई उमेर समूहको हो ।

पुरुष र महिलाहरुको स्किनमा देखिने सममस्यामा के फरक हुन्छ ?
प्रायः दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्किनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरुको प्रयोग गर्छौँ । त्यसले गर्दा छालाहरु एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

खानेकुरामा कसरी ध्यान दिने ?
जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरु पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन । ताजा फलफूल र तरकारीहरु पनि बढी खानुपर्छ । तनाव कम लिनुपर्ने हुन्छ र नियमित रुपमा व्यायाम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ ।

घरमा बसेर स्किन केयर कसरी गर्न सकिन्छ ?
घरमै बसेर स्किन केयर गर्दै गर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कँदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्किनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चायाँपोतो आउने स्किन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरू स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने, जङ्क फुड नखाने र स्वस्थ्य जीवनशैली बिताउनु नै हो ।

स्किनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुनपायो त्यही प्रोडक्टहरुको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?
स्किनको केयर गर्ने नाममा झनै आफ्नो स्कीनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन । यस सम्बन्धी केही ज्ञान नै छैन भने एक पटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर अहिलेको जमानामा प्रायः सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छाला सम्बन्धी जानकारीहरु राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभावी रुपमा औषधिहरु प्रयोग गरेर स्किनलाई बिर्गानुभन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ ।

तपाईँ आफैँमा एक डर्माटोलोजिष्ट हुनुहुुन्छ । तपाईँले आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?
बिहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर सिजनअनुसार परिवर्तन गर्ने गर्छु । जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिलहरु गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहाल्यो । तर समय मिलेसम्म सनस्क्रिन प्रत्येक दुई घण्टामा लगाउने गर्छु ।

बच्चाहरुलाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ । बच्चाहरुले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ?
कतिपयले नबुझेर बच्चाहरुलाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन । दुई वर्षमुनिका बच्चाहरुले त सनस्क्रिन प्रयोग गर्नै हुँदैन । दुई वर्षपछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाहरुको छालामा दीर्घकालीन असर देखिन्छ ।

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरुले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउनेबित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नुपर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगहरुसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्टहरु पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ ।

Skip This
Skip This
Logo