सिरहा
सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ । १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो ।
वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि कारोबारीले जग्गा खरिद गरेका हुन् । बस्ती बिक्री भएपछि बसोबास गर्दै आएका बासिन्दा वडा कार्यालय, नगरपालिका, मालपोत लगायतका ठाउँमा दौडधुप गर्दै आएका छन् । जग्गा बिक्री भएपछि आफूहरुलाई थप पीडा भएको बस्तीका रामेश्वर महराले बताए ।
पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँ बिक्री भएपछि दलित बस्तीका बासिन्दाको विजोग भएको छ । ‘बाजेको पालादेखि बसोबास गर्दै आएको जग्गा जनप्रतिनिधिको गलत सिफारिसबाट किनबेच भएछ’ रामले भने ‘जनप्रतिनिधि गरिबलाई जोगाउने भन्दा पनि भगाउनै आएका रहेछन् ।’
बस्तीका रामेश्वर महराका अनुसार करिब ५० वर्ष अघि सिरहा नगरपालिका ७ घर भएका मन्सुर मियाँकी आमा रासो धुनियाइन मियाँसँग सिरहा फूलबरिया वार्ड नं. १ (ङ) कित्ता नं. १८ को सात कठ्ठा १० धुर जग्गा किनेर बस्ती बसेको हो । ‘जग्गाको रकम तिरेपछि रजिष्ट्रेशन भएन, आज भोलि गर्दागर्दै आमा रासो र छोराको मृत्यु भएपछि जग्गा कारोबारीले कीर्ते गरेर बस्तीको जग्गा आफ्नो नाममा ल्याएको थाहा पायौं’ महराले सुनाए ‘बस्तीका दलितहरु मालपोत, नापी लगायतका कार्यालय धाएर प्रमाणहरु जुटाउन थालेपछि वडाध्यक्ष पोखरेल र वडासचिव बिन्देश्वर साहलाई समेत प्रभावमा पारेर गलत सिफारिसको आधारमा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएछ ।’
नागरिकबाट































प्रतिक्रिया