बीमा समितिलाई अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना दाबी भुक्तानी तीन दिनभित्रै गर्नु’

बीमा समितिलाई अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना दाबी भुक्तानी तीन दिनभित्रै गर्नु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना दाबी भुक्तानी तीन दिनभित्रै भुक्तानी गर्न दोस्रो पटक निर्देशन दिएका छन् । पौडेलले कोरोना बिमा दाबी ७ दिनभित्र भुक्तानी गर्न पहिलो पटक दिएको निर्देशन कार्यान्वयन नभएपछि दोस्रो निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयले बिहीबार बीमा समितिलाई पत्राचार गर्दै यो निर्देशन दिएको हो । कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भूक्तानी ३ दिनभित्र गरि दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

पहिलो निर्देशन दिएको एक महिनासम्म पनि कार्यान्वयन नभएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो । गत कात्तिक १८ गते मन्त्रालयले ७ दिनभित्र कोरोना दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भूक्तानी दिने व्यवस्था मिलाउन पत्रमा भनिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत वित्तिय क्षेत्र संस्थान समन्वय महाशाखाले काटेको पत्रमा, व्यवस्थापन तथा कोरोना बीमा दावी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरूबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरू के के हुन् ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।

कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा भएका निर्णयहरू मध्ये ७ दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्ने भनिएकोमा हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको मन्त्रालयले बताएको छ । दैनिक प्रगति प्रतिवेदन नियमितरूपमा मन्त्रालयमा नबुझाएको, बीमा समितिको हटलाइन फोन सञ्चालन नगरेको र अन्य निर्देशन पनि प्रभावकारी ढंगले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो । मन्त्रालयले नियमितरुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण, दाबी भूक्तानीको विवरण सार्वजनिक गर्न पनि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ ।

Logo