ललितपुर । ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको छ । महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको थियो भने गत पौष १ गते देखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।
पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच स्थानमा लाइट जडान गरिएको छ । महानगरपालिकाका सूचना अधिकारी देव गुरागाईँले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एआइ ट्राफिक लाइट जडान गरिएको जानकारी दिए ।
उनका अनुसार इन्टेलिजेन्स प्रणालीमा आधारित रहेका लाइटले जता धेरै सवारी साधनको चाप छ, त्यतैतिर हरियो बत्ती बालेर अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने गरी काम गर्छ ।
उनले भने, ‘ट्राफिक लाइट भन्ने वित्तिकै ट्राफिकलाई व्यवस्थापन गर्नको लागि गरिने भन्ने नै बुझिन्छ । अहिले जडान गरिएको ट्राफिक लाइट भनेको सवारीलाई अझै व्यवस्थापन गर्ने, हिजोको भन्दा अझ सवारी चापलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो । यसले एउटा चोकबाट अर्को चोकमा कहाँ बढी सवारीको चाप छ । त्यहाँ अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने भन्ने हिसाबले सुरु गरिएको छ । अहिले हामीले कुपण्डोलदेखि सातदोबाटोसम्म यसलाई प्रयोगमा ल्याइराखेको छौ ।’
साथै, उनले यस सिस्टमले ट्राफिक लाइटमा यात्रुले धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने भएकाले सकारात्मक पाटो रहेको बताए । सहरी विकास योजना महाशाखा प्रमुख तथा परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएको भन्दै इन्टेलिजेन्स ट्राफिक लाइट २०२२ मा नै जडान गर्ने योजना रहेको तर केही कारणबस ढिलो भएको बताए ।
लाइटले कसरी काम गर्छ ?
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गर्छ र तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ । सोही जानकारीको आधारमा सिस्टमले जता धेरै सवारीसाधन छ, त्यतातिर हरियो बत्ती बाल्छ ।
उनले भने, ‘ललितपुर महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएकाले यसै अन्तर्गत इन्टेलिजेन्ट ट्राफिक सिस्टम लिएर आएको हो । नेपालमा भएका ट्राफिक लाइटभन्दा यो धेरै नै फरक छ । लाइटले भेकल काउन्ट गर्छ । जसमा भेकल काउन्ट गरेर रातो र हरियो बत्तिको समय छुट्याउने गर्छ । इन्टिलिजेन्ट ट्राफिक सिस्टम पाँच ठाउँमा जडान गरिएको छ । यो जडान हामीले २०२२ मै गर्ने भनेपनि केही कारणले समयमै जडान हुन सकेको थिएन । जडान खास एकदेखि डेढ वर्षमा सकिनुपर्ने हो तर केही वर्ष ढिला हुनपुग्यो ।’
अहिले ललितपुर बसपार्कलाई व्यवस्थापन गर्नको लागि दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । उनका अनुसार महानगरले पहिलो फेजको प्रोजेक्टमा ११७ वटा जक्सनको भिजिबिलिटि बुझाएको र त्यसमध्ये ५० वटा प्रयोगमा जाने भनेर पहिले नै निर्णय गरिसकेको छ । तर गणनामा जाँदा लगभग ६३ देखि ६५ थप्नुपर्ने अवस्था रहेको छ ।
‘अहिले ललितपुर बसपार्कलाई कसरी व्यवस्थापन गर्ने भनेर धेरै नै अध्ययन गरिसकेका छौं । यसैबीचमा दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था छ । सुरुमा हाम्रो कुपण्डोलको इन्ट्रान्स भयो, अहिले हामी जावलाखेलसम्म आइसकेका छौं । जावलाखेललाई बेस गरेर हामी दुई –दुई पोइन्टहरु पहिचान गरेर गएका छौं । यो पहिलो फेजको प्रोजेक्टमा हाम्रो सल्लाहकारले चाँही ११७ वटा जक्सनको भिजिबिलिटि बुझाएको छ । त्यसमध्ये ५० वटा प्रयोगमा जाने भनेर पहिले नै निर्णय गरिसकेका छौं । तर काउन्टिङमा जाँदा लगभग ६३ देखि ६५ थप्नुपर्ने अवस्था देखियो’ उनले भने ।
बृहत् गर्ने लक्ष्य
लाइट विस्तार गर्ने महानगरको लक्ष्य बृहत् छ । गोदावरी नगरपालिकासँग समन्वय गरेर लाइट जडानको काम गोदावरीसम्म नै गर्ने लक्ष्य रहेको छ ।‘जावलाखेलदेखि लगनखेल हुँदै सातदोबाटोको हरिसिद्धिसम्म लाइट जडान गरिएको छ । तर हाम्रो लक्ष्य गोदावरीसम्म नै हो । तर पछि गोदावरी नगरपालिकासँग समन्वय गरेर यो लाइट जडानको काम गोदावरीसम्म नै गर्ने छौ । यसैगरी जाउलाखेलबाटै एकान्तकुना, नख्खु, भैंसेपाटी हुँदै चुनीखेलसम्म नै जडान गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।
त्यसैगरी तेस्रो चरणमा पुल्चोकको महानगरको अगाडिको जक्सनलाई छोडेर माथीको पुलसम्म पनि अध्ययन गरिरहेको भन्दै आगामी ८२÷८३ मा त्यहाँसम्म जडान हुनेगरी डीपीआर तयार गर्न लागेको पनि उनले जानकारी दिए । उनले भने, ‘यसैको तेस्रो पाटोमा पुल्चोकको महानगर अगाडिको जक्सनको बाटोबाट अहिलेको जुन ग्वार्कोको ओभरपास बन्दै छ त्यसलाई छोडेर माथिको पुलसम्म पनि अध्ययन गर्दै छौँ र यसको लागि महानगरले बजेट पनि छुट्याएको छ । अहिले डीपीआर तयार गरेर आगामी ०८२–८३ मा त्यहाँसम्म जडान हुनेछ ।’
योजना प्रमुख महर्जनका अनुसार महानगरको आफ्नै लगानीमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको हो । जसमा पाँच स्थानमा जडान गर्दा ६ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ । पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो कि भनेर प्रश्न पनि आउने गरेको छ । तर अब आगामी जडानका लागि सफ्टवेयर किन्नु नपर्ने कारण खर्च कम हुने उनी बताउँछन् ।
‘झण्डै ६ करोड ८८ लाखको प्रोजेक्ट हो । बजेट सबै ललितपुर महानगरकै हो । यसमा कसैबाट सहयोग मागेका छैनौं । पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो की भनेर प्रश्न उठिरहेका छन् । तर अब आगामी जडानका लागिसफ्टवेयर किन्नु पर्दैन ।, उनले भने,‘ सबैभन्दा ठूलो कुरा नै सफ्टेवयर किन्नु हो । अब त्यो छाडेर हामीले बत्ति, तार मात्र किन्ने हो । अब आगामी दिनको जडानमा धेरै खर्च आउँदैन ।’
बग्गीखाना उपत्यका ट्राफिक लाइट, सडक विभाग, यातायात विभाग सबैको राम्रो सहयोग भए तापनि नयाँ काम भएको हुँदा आमजनता, नगरपालिका र विभागहरूलाई पनि सिस्टम स्विीकार गर्न समस्या आइरहेको उनको भनाइ छ ।
‘सडक, सडक विभाग अन्तर्गत पर्छ । उहाँहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ । दोस्रो कुरा ट्राफिक लाइट भनेको उपत्यका ट्राफिक प्रहरी हो । उहाँहरूको लाइट सञ्चालनमा छ । उहाँहरु पनि सहकार्य गर्नुपर्ने हुन्छ । ट्राफिक लाइट उल्लंघनको कुरा यातायातसँग गर्नुपर्यो । सबैसँग राम्रो सम्बन्ध छ र सबैले राम्रो सहयोग गर्नुभएको छ । नयाँ कुरा भएको हुनाले जनता, नगरपालिका र माथि उल्लेख गरेका संस्थाहरुलाई स्वीकार गर्न समस्या आइरहेको छ’ उनले भने, ‘हामीले जहाँबाट बाटो काटीरहेका हुन्छौ त्यहीबाट काट्न पाए सजिलो हो । जुनबेला पनि जान पाए सजिलो हो । यस्तो व्यवस्थामा ढाल्न अलिका समस्या हुनु स्वभाविक नै हो । तर यसले सबैलाई नियम कानुनको दायरामा भने ल्याउँछ । यसबाट जनता र साधन दुवैको सुरक्षा हुने भयो यो सबैलाई फाइदा नै हुने कुरा हो ।’
विदेशमा प्राय जसो धेरै देशहरुमा इन्टेलिजेन्स ट्राफिक लाइटहरु नै जडान गरिएको हुन्छ तर नेपालमा भने यो लाइटको सफ्ट्वयर भारतबाट आयात गरिएको हो ।





























प्रतिक्रिया