गायक ‘राई इज किङ’ अमेरिकामा न्यूयोर्कका मेयरबाट सम्मानित

गायक ‘राई इज किङ’ अमेरिकामा न्यूयोर्कका मेयरबाट सम्मानित

केन्द्रबिन्दु
888
Shares

काठमाडौँ । गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा विशेष सम्मान गरिएको छ । नेपाली अमेरिकन कलाकार संघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम “रमझम साँझ–२०२४” मा ‘राई ईज किङ’का रूपमा चर्चित गायक राईलाई विशेष सम्मान प्रदान गरिएको हो ।

गुल्सन टेरेश हलमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सले उनलाई सम्मान गरेका हुन् । यो सम्मान भाषा, संगीत र समाजसेवाका क्षेत्रमा गरिएको अतुलनीय योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।

‘राई ईज किङ’का रूपमा चर्चित राजेशपायलले यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’ कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । हल खचाखच भरिएको थियो र उपस्थित सबै दर्शकहरूले आफ्नो माया र सांस्कृतिक पहिचानको सम्मान गर्दै कार्यक्रमलाई सफल बनाउन तल्लीन थिए ।

जब राईले आफ्नो सुमधुर आवाज र चर्चित गीतहरू प्रस्तुत गर्न थाले, हलमा उत्साहको माहोल सिर्जना भएको थियो । उनका गीतहरूले उपस्थित सबैलाई नाच्न र गाउन प्रेरित गरे, जसले कार्यक्रममा रौनक थपेको थियो ।

न्यूयोर्कको कार्यक्रम सकेर उनी सोझै क्यानडा गएका छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट छ । क्यानडाको कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । त्यसपछि न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुति दिनेछन् । विदेशमा बढी व्यस्त रहँदै आएका राजेशपायल डल्लासपछि जर्मनी जानेछन् । जर्मनीमा उनको कार्यक्रम तय भइसकेको छ । करिब एक वर्षयता सांगीतिक वल्ड टुरमा रहेका उनी जर्मनीको कार्यक्रम सकेपछि नेपाल फर्कनेछन् । नेपाल आउनेबित्तिकै कार्यक्रम र रेकर्डिङमा व्यस्त हुने गायक राईले बताएका छन् ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीको उपस्थितिमा गरिएको थियो । स्वागत मन्तव्य नेपाली अमेरिकन कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले दिएका थिए । उनले कार्यक्रमको उद्देश्य र महत्त्वलाई स्पष्ट गर्दै उपस्थित सबैलाई सस्नेह स्वागत गरेका थिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् । नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्त्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् ।

सांगीतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ विशेष र रंगीन बनाएको थियो । प्रेम सेन्चुरीको “हे जननी अब बुद्ध पठाइदेऊ” र दिनेश सुनारको “पार्कर”प्रस्तुतिले कार्यक्रमको शुरुवातलाई अत्यन्तै भावुक र प्रेरणादायक बनायो । राजन ठकुरीको एकल गायनले सारा हलमा भावनात्मक वातावरण सिर्जना गरेको थियो ।

कार्यक्रमको सञ्चालन संगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए । उनीहरूको आकर्षक सञ्चालनले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो । कार्यक्रमको समापन डीजे राजाको प्रस्तुत संगीतसँगै भएको डीजे पार्टीले हलको वातावरणलाई एकदम उत्साही र ऊर्जा पूर्ण बनाएको थियो ।

Logo