कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

केन्द्रबिन्दु
9
Shares

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नगरपालिकाका किसानलाई व्यावसायिक बनाउनको लागि उत्प्रेरित गर्न दुई दिने नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ ।

मेलाको मंगलबार संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङले शुभारम्भ गरेका हुन् ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, राजनीतिक दलका नेताहरू, रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने लगायतले प्रदर्शनीले किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको बताए ।

हालसम्म नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा गरेको लगानीको प्रतिफल हेरी आगामी लगानीका क्षेत्र पहिचान गर्न प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख लब श्रेष्ठले बताए ।

प्रदर्शनीमा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी, मसलाजन्य, कन्दमूल, नर्सरी लगायतका उत्पादन राखिएको छ । त्यस्तै पशुपन्छीतर्फ खसी, बोका, अण्डा लगायत प्रदर्शनीमा राखिएको छ ।

दूध जन्यमा डेरीका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएको छ । लघु उद्यमतर्फ बेकरी, होजियारी, ढाका कपडा, ब्याग, दुना, टपरी, हस्तकला, बाँसजन्य, साबुन, आलुचिप्स लगायतका सामाग्री प्रदर्शनीमा राखिएको छ ।

जिल्ला समन्वय समितिको मैदानमा आयोजना गरिएको प्रदर्शनीमा किसानहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको छ । त्यस्तै प्रदर्शनीमा आउने किसान र ल्याउने सामग्रीको यातायात भाडा तथा प्रदर्शनीमा बस्नेलाई प्रतिस्टल एक जनाको दरले खाना र आवास खर्च समेत नगरपालिकाले नै उपलब्ध गराएको छ ।

५ भन्दा बढी स्टलमा किसानले आफ्नो उत्पादन राखेका छन् । प्रदर्शनीमा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Logo