“मुर्ख मनुवाहरू हो ! नयाँ आविस्कार रोक्ने कि म्याद गुज्रेको कानुन बदल्ने ?”- महावीर पुन

“मुर्ख मनुवाहरू हो ! नयाँ आविस्कार रोक्ने कि म्याद गुज्रेको कानुन बदल्ने ?”- महावीर पुन

केन्द्रबिन्दु
0
Shares

सरकारले ‘टुटल’ र ‘पठाओ’ को अवधाणालाई रोक लगाएपछि चौतर्फी आलोचना शुरु भएको छ।  राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले पनि सरकारी कार्यशैलीप्रति तिखो आलोचना पोखेका छन्।

पुनले  म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ आविस्कार र अबधारणालाई कार्यन्वयन गर्नुपर्ने बताएका छन्।  “देशलाई एकदमै फाइदा हुने नयाँ काम गर्दै नगर्ने कि म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ ब्यबसायहरु लाई प्रोत्साहन गर्ने ?” पुनको प्रश्न छ।

‘कानुनमा नै छैन भनेर देशलाई एकदमै फाइदा हुने नयाँ काम गर्दै नगर्ने कि म्याद गुज्रेको कानुनहरु तत्कालै बदलेर नयाँ कानुन बनाई नयाँ ब्यबसायहरुलाई प्रोत्साहन गर्ने र ति ब्यबसायहरुलाई कानुनको दायरामा ल्याउने ? नेपाली भाई बहिनीहरुले लगानी गरेर संचालन गरेको मोटरसाइकलबाट सस्तोमा यातायात सेवा दिने ब्यबसाय र रोजगार सृजना गरेको टुटल अहिले यहि मारमा परेको छ। ‘पठाओ’ बिदेशीहरुले सुरु गरेको त्यस्तै सेवा हो र त्यसलाई पनि कानुनको दायरामा ल्याउनु पर्छ।’ उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

उनले सरकारसहित कर्मचारीतन्त्रका मुर्ख मनुवाहरू भन्दै २ ओटा उदाहरण पनि दिएका छन्। 

१. मानौ नेपालमा कुनै प्रतिभाशाली नेपालीले ब्याट्रीबाट चल्ने एकदमै नयाँ प्रबिधि निकालेर नयाँ किसिमको गाडी बनायो भने त्यसलाई रोक्ने ?

२. मानौं कुनै प्रतिभाशाली व्यक्तिले पर्यटनको बिकासको लागी कुनै नयाँ आइडिया निकालेर पर्यटनको द्रुत बिकास गर्न खोज्यो भने त्यसलाई पनि रोक्ने ?

उनले थप लेखेका छन्, – ‘यी माथिका कामहरु गर्नको लागि धेरै बर्ष अगाडि बनेको कानुनले पक्कै दिंदैन किनभने कानुन बन्दा त्यस्ता कुराहरुको इनोभेशन/आविष्कार भएको थिएन। त्यसो भन्दैमा कसैले पनि नयाँ आविष्कार र ईनोभेशन नगर्ने अनि नेपाललाई संधैं गरीब देश बनाएर राख्ने ?’

उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तलाई पनि जान्ने सुन्ने राष्ट्र सेवकको नाटक नगर्न सुझाएका छन्।

उनको स्टाटसमा प्रतिक्रिया दिंदै राज चाम्लिङ् राइले लेखेका छन्,- ‘नेपाल यस्तो देश हो आफ्नै देशलाई फाइदा हुने काम पनि गर्न दिदैन प्रतिभावान युवाहरु पनि त्यसपछि बिदेश पलायन हुन बाध्य छन, अचम्मको कुरा त बिदेशमा सुरक्षाको लागि सिसि टिभि र क्यामेरा राख्नै पर्छ नेपालमा सिसि टिभि र क्यामेरा राख्दात जेल पो जानु पर्ने रहेछ । अब अन्लाईन ट्याक्सी, कार मोटरसाइकलको त के कुरा गर्नु सकारात्मक काम गर्नेलाई पुरस्कृत त परै जाओस जेलको हावा खानु पर्ने यो कस्तो बिडम्बना होला ?’

त्यस्तै गरि प्रेम श्रेष्ठले लेखेका छन्,- ‘ देशको सरकारको नियत सधै धनी व्यापारीसग मिलेर बिदेशबाट सामान आयात गरि , भन्सार छुट गरेर कमिशन खाने र देशको ढुकुटी सक्ने रणनीतिमा चलेको छ । देशमा रहेको ४५ उद्योग निजीकरण गर्दै टाट पल्टाउनु , लोडसेडिङ बढाएर , सोलार र ब्याट्री जन्य बैकल्पिक बिजुलिको श्रोत देशमा ल्याउनु जस्ता उदाहरण काफी छन।’

यस अघि नया शंक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि सरकारी कामको आलोचना गरेका थिए।  ‘अरबौंका भ्रष्टाचार गर्नेहरू, दिनदहाडै बलात्कार-हत्या गर्नेहरू, अफिसमै सचिव कुट्नेहरूका रौं झार्न नसक्ने तर फुर्सदको वेला दुइपांग्रे चलाएर कलेजको फिसको जोहो गर्ने र न्यून आय भएका यात्रुलाई राहत दिने स्वरोजगार युवाहरूलाई समातेर के पौरख देखाएको हो? उद्यमशीलता रोक्ने कानून पो फेर्ने त!’ भन्दै उनले आक्रोश पोखेका थिए।

त्यस्तै विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले पनि सरकारको यस्तो कार्यशैलीले सम्बृद्ध नआउने भन्दै आलोचना गरेका थिए।  ‘टुटल /पठाओ जस्ता नवीन यातायातको नमुना समाधान गर्दै आएका व्यवसायलाई पुरस्कार दिनुको साटो उल्टो रोक्ने प्रयास गरियो भने नेपाल कसरी संवृद्ध हुन्छ ?’ उनले प्रश्न गरेका छन्।

Skip This
Skip This
Logo