सिटिईभिटीका विद्यार्थी न्यायको खोजीमा, प्राधिकरण भन्छ- विज्ञापन खुलाउँदैनौं

सिटिईभिटीका विद्यार्थी न्यायको खोजीमा, प्राधिकरण भन्छ- विज्ञापन खुलाउँदैनौं

केन्द्रबिन्दु
933
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तीन र चार तहको विज्ञापन नखुलाउँदा भविष्य अन्योल भएको भन्दै ईलेक्ट्रिक ईन्जिनियरिङका विद्यार्थीेहरुले न्यायका लागि पहल गरिरहेका छन् ।

सिटिईभिटीबाट ईलेक्ट्रिक ईन्जिनियरिङको ( १८ महिने) टिएसएलसी र इन्डष्ट्रियल इलेक्ट्रीक अध्ययन गरेका विद्यार्थीले खुलातर्फबाट लोक सेवाको परीक्षा दिन पाउनुपर्छ भन्दै विद्यार्थीहरुले सिटिईभिटी, प्राधिकरण र लोकसेवा आयोगलाई भविष्य सुनिश्चित गरिदिन आग्रह गरेका छन् ।

एकातिर सिटिईभिटीले टिएसएलसी र इन्डष्ट्रियल इलेक्ट्रिक सेकेन्ड लेभलको कक्षा सञ्चालन गरिरहेको छ भने अर्काेतिर विद्यार्थीहरुलाई पूर्व जानकारी नै नगराई लोकसेवाको विज्ञापन नखुलाउने निर्णय गरेको छ । जसले गर्दा विद्यार्थीको भविष्य अन्योलताका साथै अभिभावकको लगानी पनि डुब्ने सम्भावना उत्तिकै छ ।

प्राधिकरणले आन्तरिकतर्फ विज्ञापन खुलाउने भए पनि खुलातर्फ विज्ञापन नखुलाउने निर्णय गरिसकेकाे छ । प्राधिकरणको कर्मचारी सेवा, सर्त विनियमावली २०७५ को २०२४ डिसेम्वर २१ मा भएको ११ औं संशोधनको परिच्छेद मा तह तीन र चार तहको खुलातर्फ विज्ञापन नखुलाउने तर आन्तरिकतर्फ ४० प्रतिशत पदपूर्ति गरिने उल्लेख छ । त्यस्तै तह चारमा पनि खुलातर्फ विज्ञापन नखुलाउने, तर आन्तरिकबाट ३० प्रतिशत स्थायी पदपूर्ति गरिने भनिएकाे छ ।

तह तीन र चारको परीक्षा दिन पाउने गरि टिएसएलसी र इन्डष्ट्रियल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीको भविष्य त अन्याेलमा पर्याे नि भन्दा प्राधिकरणका पदाधिकारीहरु भन्छन्- ‘अब विज्ञापन खुलाउँदैनौं । विद्यार्थीहरुले सेवा प्रदायक संघसँग आवद्ध भएर जागिर गर्न सक्नुहुन्छ ।’

लोकसेवाको विज्ञापन नखुलाउने हो भने सम्वन्धित निकायले ‘५/१० वर्ष अगाडि नै यस तहको स्कोप छैन, अब विज्ञापन खुलाउँदैनौं’ भनेर पूर्व सुचना दिनुपर्छ । तर प्राधिकरणले सूचनाविना नै उक्त निर्णय लिएको भन्दै आपत्ति जनाएका छन् । विद्यार्थीहरुले विज्ञापन खुलाउनुपर्छ हाम्रो भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने मागसहित प्राधिकरण, सिटिईभिटी र लोकसेवा आयोगमा निवेदन दर्ता गराए पनि कुनै पनि जवाफ नआएको विद्यार्थीहरुकाे गुनासाे छ ।

सिटिईभिटीबाट इन्डष्ट्रियल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थी विनोद अधिकारीले भने, ‘हामीले प्राधिकरण, सिटिईभिटीमा निवेदन दर्ता गरेको ८ दिन बितिसकेको छ । तर कुनै किसिमको जवाफ आएको छैन ।’

उक्त निवेदनमा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको ११औं संसोधन कर्मचारी सेवा सर्त नियमावली २०७५ को ११ संसोधन २०८१ अनुसार प्राविधिक तह तीन र चारको खुलातर्फको विज्ञापन बन्द गरिनुका साथै नेपालको संविधान २०७२ भाग ३ को मौलिक हक समेत हनन हुने कार्य भएको छ । प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद्ले विगत लामो समय देखि इलेक्ट्रिक इन्जीनियरिङ ( १८ महिने) १ तहको अध्यापन सञ्चालन गरेको हुँदा देशैभरका सयौं शिक्षालयहरुमा अध्ययन गरिरहेका र अध्ययन गरेका हजारौं विद्यार्थीहरुलाई नेपाल विद्युत प्राधिकरणले २०८१ सालको स्थायी पदपूर्तिका लागि खुला गरिएको विज्ञापनसँगै यस तहका विद्यार्थीहरु अयोग्य ठहर भएका छन् । जसका कारण हजारौं विद्यार्थीको भविश्य संकटमा परेको छ । त्यसैले नेपाल विद्युत प्राधिकरणले तह ३ र ४ को प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट प्रदान भइरहेको ईलेक्ट्रिक इन्जिनियरिङ् १८ महिने तहको अध्यापन दिगो रोजगारमूलक भरपर्दाे र गुणस्तरीय शिक्षाको अपेक्षाका साथ तह ३ र ४ को विज्ञापन सार्वजनिक गरिदिने व्यबस्था मिलाईदिन विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध छ ।’

विद्यार्थी भन्छन्- ‘हामीले अध्ययन गरेको विषय अनुसार रोजगारी पाउनुपर्छ ।’ तर, यता प्राधिकरण भन्छ, ‘अब विज्ञापन खुलाउँदैनौं ।’ लोकसेवा आयोग भन्छ- ‘सम्बन्धित संघ संस्थाले पदपूर्तिका लागि आयोग संग सहकार्य गर्छन् र त्यही अनुसार हामिले विज्ञापन खुलाउने र परिक्षा सञ्चालन गर्ने हो । त्यसैले यो विषय हामीसँग सम्बन्धित छैन ।’

Skip This
Skip This
Logo