काठमाडौं
स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी परिचालन गर्न थालेको छ । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।
सीएमए÷एचए आबद्व ६० हजार, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपालमा आबद्व २५ हजार, नेपाल डेन्टल हाइजेनिक एसोसिएसनमा आबद्व ८ हजार, आँखा सम्बन्धी क्षेत्रका ४ हजार, जनस्वास्थ्य संघका ५ हजार, फिजियोथेराफी संघका १२ हजार पाँच सय व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
यसैक्रममा ४ हजार पाँच सय सरकारी सेवामा कार्यरत एचएहरूले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाएका छन् । संघीयता अनुसारको नयाँ संरचना र कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने लगायतका माग राख्दै नेपाल हेल्थ असिस्टेन्ट संघ (हान) आन्दोलनमा छ ।
संघीय संरचनामा हेल्थ असिस्टेन्ट (एचए) लाई विभेद गरेको भन्दै देशभरका एचए काठमाडौंमा जम्मा भएका हुन् । उनीहरूले दैनिक माइतीघरमा समेत भेला भएर आन्दोलन गर्दै आएका छन् । एचए भन्दा माथि सीअहेबलाई राख्न खोजिएको र मन्त्रिपरिषद्बाट पारित एचएहरूको दरबन्दी संरचना कार्यान्वयनमा चलखेल गर्न थालिएको भन्दै आन्दोलन थालेको हान प्रदेश ३ का संयोजक कृष्ण खत्रीले बताए ।
राजधानीबाट





























प्रतिक्रिया