काठमाडौँ
व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ । केही दिन अघि नेपाल राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको पैसा फिर्ता लिन निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतले दिएको आदेशजस्तै सुमार्गीको रकम साबिककै स्थितिमा राख्न इन्भेस्टमेन्ट बैंकलाई आदेश दिइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘अदालतको आदेशजस्तै राष्ट्र बैंकले पनि इन्भेस्टमेन्ट बैंकलाई झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ,’ उनले भने, ‘तर झिकेको रकम फिर्ता नगरेमा राष्ट्र बैंकले सुमार्गीको अरू बैंक खाता रोक्का राख्ने वा नराख्ने भन्ने विषयमा निर्देशन दिइएको छैन ।’
सुमार्गीको खातामा के कति रकम छ र के-कति भित्र्याएको भन्ने सम्बन्धमा जानकारी मागिएको प्रवक्ता पौडेलले बताए । अन्य खातामा रहेको रकम रोक्का राख्ने वा नराख्ने भन्ने सम्बन्धमा कुनै निर्णय नगरिएको जानकारी उनले दिए ।
सुमार्गीले बैंकबाट पछिल्लोपटक ८३ करोड २५ लाख र यसअघि दुई अर्ब २५ करोड रुपैयाँ झिकिसकेका छन् । यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर ( दुई अर्ब २५ करोड रुपैयाँ ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए । सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर ( करिब पाँच अर्ब रुपैयाँ ) खातामा जम्मा पारेका थिए ।
नागरिकबाट































प्रतिक्रिया