चिसो बढ्दै गएपछि दैनिक जनजीवन कष्टकर बन्दै

चिसो बढ्दै गएपछि दैनिक जनजीवन कष्टकर बन्दै

केन्द्रबिन्दु
51
Shares

रौतहट । केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शितलहर हुन थालेपछि रौतहटमा अत्याधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।

अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको शिवनगरका सुवास मिश्रले बताए । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा व्यापार घटेका कारण पसले चिन्तित रहेको उनको भनाइ छ ।

चिसोले मानिस मात्र नभई घरपालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउँछन् । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ ।

चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । बढ्दो चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको छ ।

जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखला लगायतका बिरामीहरू आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अत्याधिक चिसो बढेपछि यहाँका मुख्य चोकमा आगो ताप्ने व्यवस्था गर्न सवसाधरणले पालिकासँग आग्रह गरेका छन् ।

Logo