काठमाडौं । आईतबार एउटा खबर एकाएक भाईरल बन्यो । त्यो भाइरल भएको खबर अरु केही नभएर एक मन्त्रीले सचिवलाई कुटेपछिको भिडियो थियो । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटेका थिए । कुटाइ खाएपछि सचिव झाले यसरी प्रतिक्रिया दिएका थिए ।
संघीय समाजवादी फोरम नेपालका तर्फबाट मन्त्री बनेका यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झालाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेका हुन् ।
आफूनिकटको एनजीओलाई अनुदान नछुट्टाएको भन्दै मन्त्रीले कुटपिट गरेको सचिवको आरोप थियो । संघीय सरकारको सशर्त अनुदानअन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा मन्त्री र सचिवको स्वार्थ बाझिएको थियो । त्यही झोकमा मन्त्रीले रिस पोखेको प्रत्यक्षदर्शीले वताए ।

मन्त्रीले सचिवमाथि हातपात गर्दा प्रदेश २ का सभामुख सरोजकुमार यादव र प्रदेशसभा सदस्य उपेन्द्र महतो पनि कार्यकक्षमै थिए । सभामुख यादवले बचाउको प्रयास समेत गरेका थिए । सचिव झाले आफूलाई मन्त्रीले पहिले एक झापड हानेको र रोक्न खोज्दा लात्तीले पिठ्युँमा हानेर बाहिर धकेलेको बताए ।
मन्त्रीले सचिवलाई कुटपिट गरेपछि यो विषयले चर्चा पाएको छ । विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ यो विषय मसला नै बनेको छ । सरकारी कर्मचारीहरुले उक्त घटनाको घोर विरोध गरिरहेका छन् । आम नागरिकले समेत गल्ती गरेको भए कानूनी कारवाही गर्नुपर्नेमा मन्त्रीले दादागिरी देखाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल प्रयोकर्ताहरुले उक्त घटनाको व्यंगात्मक शैली अपनाएका छन् । उनीहरुले कर्मचारीलाई कसरी सुरक्षित रहने भन्ने सुझाव समेत दिईरहेका छन् । एक सरकारी कर्मचारीले त सोमबार बिहानै आफ्नो अफिसको कार्यकक्षमा मोटरसाईकलको हेलमेट लगाएर काम गरेका छन् । उक्त घटनाको विरोध स्वरुप ती कर्मचारीले हेलमेट लगाएर आत्मसुरक्षा गर्नुपरेको दावी गरेका छन् ।
त्यस्तै सञ्चारकर्मी केशव साउदले पनि सचिवको भनाईंप्रति आपत्ति जनाएका छन् । मन्त्रीले कुटेपछि सचिव झाले एक्लै लड्न चुनौती दिएका थिए । उनले मन्त्री पदको सम्मान गरेकाले उनीमाथि हातपात नगरेको भन्दै हिम्मत भए फिल्डमा आउन चुनौती दिएका थिए ।
यही कुरालाई व्यंग गर्दै साउद लेख्छन्, ‘हरामीको बच्चा साला ! लर्ने भए आइजा एक्लै एक्लै रे…सचिबले पुलिस वरपर देखेर मन्त्रीलाई च्यालेन्ज गर्छन । तिनलाइ थाहै रैनछ, हानेपछि हान्या हानेइ हुन्छ भन्ने…पछि त कम्प्रमाइज न हो हुने…
त्यस्तै केशव भट्टले अब लोकसेवाले पाठ्यक्रम संशोधन गरेर आत्मरक्षा अन्तर्गतको अभ्यासात्मक जुडो कराँते विषय पनि समावेश गर्नुपर्नेमा जोड दिन्छन् । उनले लेखेका छन्, ‘अब लोकसेवाले पाठ्यक्रम संसोधन गर्दै ५० पुर्णाकंको आत्मरक्षा अन्तर्गतको अभ्यासत्मक जुडो कराते बिषय पनि समाबेश गर्नुपर्यो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले दुवैलाई दोषी देखेका छन् । ट्वीटरमा उनले कुट्ने मन्त्री र मन्त्रीलाई च्यालेन्ज गर्दै सचिव दुवैको नियती खराव भएको जनाएका छन् । उनले लेखेका छन्, “मन्त्रीज्युले झापड हान्नुभो, लात्तीले भकुरेर निकाल्नुभएछ” छि ! कस्तो मन्त्रीज्यु भन्ने लाग्यो । मर्यादाको ख्याल गर्ने सचिबज्युको आक्रोशयुक्त भिडियोको भाषा सुन्दा झन् घिनलाग्यो । मुख्यमन्त्रीज्युको बिबाद “सामसुम” भईसक्यो भन्ने प्रतिक्रिया सुनेपछि लाग्यो, “सक्किगोनी”
त्यस्तै शिक्षक भिम चन्दले पनि कर्मचारीलाई जोगिन सचेत गराएका छन् । उनले लेखेका छन्, कर्मचारी साबधान ! “हेल्मेट लगाउ टाउको बचाउ ।” त्यस्तै चन्द्र धामी लेख्छन्, ‘प्रदेश २ मा माननीयहरूको नाम त हाननीय पो भएछ त…साउथ इन्डियन फिल्मको कथासँग हाम्रा हाननीयहरूको चरित्र ठ्याक्कै मिल्ने क्या…’
यो विषयमा सुरेश पन्तले छायाँ सरकारलाई व्यंग गरेका छन् । उनले मन्त्री र सचिवबीच कुटाई हुँदा छायाँ सरकार के हेरेर बसेको भन्दै व्यंग गरेका हुन । उनले लेखेका छन्, मन्त्रीले सचिव कुटिसके, के हेर्दैछ छायाँ सरकार ? आफ्नै गाला भए नि झापड हानेर प्रतिस्पर्धा गर्न पर्दैन ?





























प्रतिक्रिया