नेपालको पहिलो भूउपग्रहको सफल ‘हार्डवेयर’ परीक्षण, बैशाखमा प्रक्षेपण गर्ने लक्ष्य

नेपालको पहिलो भूउपग्रहको सफल ‘हार्डवेयर’ परीक्षण, बैशाखमा प्रक्षेपण गर्ने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पहिलो नेपाली भूउपग्रह ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ परीक्षण सफल भएको छ । जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को प्रयोगशालामा चन्द्र सूर्य अंकित ‘नेपाल स्याट–वान’ को ‘भाइब्रेसन’ र ‘भ्याकुम’ परीक्षण सफल भएको हो।

यो सफलताले आगामी वैशाखमा आफ्नै पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्ने नेपालको योजना सफलता नजिक पुगेको छ। ‘भाइब्रेसन’ पृथ्वीबाट अन्तरिक्षमा प्रक्षेपण गर्दाको परीक्षण हो। भ्याकुम अन्तरिक्ष वातावरणसम्बन्धी परीक्षण हो। यी दुवै जाँच भूउपग्रह प्रक्षेपण गर्दाका बखत हार्डवेयरमा देखिन सक्ने सम्भावित समस्यासँग सम्बन्धि हुन्।

नेपाली वैज्ञानिक आभाष मास्केले जापानमा निर्माण गरेको यो नानो भूउपग्रह अमेरिकाको एक निजी कम्पनीको रकेटबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाइनेछ । त्यसको करिब एक महिनापछि अन्तरिक्षमा छोडिने कार्यक्रम छ।

नेपाली विद्यार्थी मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत नानो भूउपग्रह निर्माण गरेका हुन्। उनी क्युटेकबाट भूउपग्रह प्रविधिमा विद्यावारिधि गर्दैछन्। जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

पृथ्वी सतहभन्दा ४ सय किलोमिटर माथि रहने यो भूउपग्रहले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्नेछ। त्योमध्ये ६० मिनेट उज्यालोतिर र ३० मिनेट अँध्यारोमा रहन्छ। नेपालमाथिको आकाशमा यसले दिनमा चार फन्का लगाउनेछ ।

नेपाल स्याट वान १० सेन्टिमिटर अग्लो, १० सेन्टिमिटर लामो र १० सेन्टिमिटर चौडा छ। मानिसको हातमा अँट्ने यो क्युस्याट १ किलो ३३० ग्राम तौलको छ ।

Skip This
Skip This
Logo