शुभ मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’

शुभ मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ ।

मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै चलचित्रको लागि पहिलो र महत्त्वपूर्ण शट दिए । यो चलचित्र इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।

यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।

यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

Skip This
Skip This
Logo