काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बुधबार पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहीदचोकस्थित शहीद पार्कभित्रबाट नाराबाजी गरेका छन् ।
पार्टी सभापती रवि लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरूले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका विरुद्ध चर्को नाराबाजी गरेका थिए । बुधबार पनि रास्वपाका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो । निषेधित क्षेत्र प्रवेश गर्न चाहने पत्रकार, कानून व्यवसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिवार्य गरिएको थियो । यद्यपि निषेधित क्षेत्रभित्र नै पर्ने शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले लामिछानेलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरेका थिए । त्यसअघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पार्कभित्रबाट हटाउने प्रयास गरेको थियो तर रास्वपाका नेता तथा कार्यकर्ताहरूले विरोध गरेका थिए ।
यसैबीच सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । अन्य प्रतिवादीहरूको थुनछेक बहस सकिएको र बिहीबार जिल्ला सरकारी वकीलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि बिहीबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन् ।





























प्रतिक्रिया