ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् ।
नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाएका हुन् ।
उनले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे ।
“हाम्रो देश कलाका लागि प्रसिद्ध छ । यहाँका कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्”, उनले भने, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।”
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब रु ११ अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ ।





























प्रतिक्रिया