ललितपुर । पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शवगृहको स्तरोन्नति गरेको हो ।
चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लास राख्न सकिने छन् । थपिएको शवगृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शवगृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए ।
पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए । अस्पतालका निर्देशक प्राडा रवि शाक्यले शवगृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए ।
अस्पतालका फरेन्सिक विज्ञ डा सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउँदै महानगरले सहयोग गरेकोमा धन्यवाद दिइन् ।
अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘पाटन अस्पताल अस्पताल मात्रै होइन, यो स्वास्थ्य क्षेत्रको विश्वविद्यालय हो, धेरै धेरै धन्यवाद ।’





























प्रतिक्रिया