काठमाडौँ । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम सोमबार द सोल्टी होटेलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भने, “हामीले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ । हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्, तर किन ? यसमा धेरै दृष्टिकोणहरू छन् । कसैको दृष्टिकोणमा यो सोसल स्टेटस हो, कसैको लागि बाध्यता हो भने कसैको लागि राम्रो अवसरहरूको खोजी । कारण जे भए पनि हामीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । विभिन्न क्षेत्रहरूमा रोजगारीका अवसरहरू पहिचान गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा समाजका हरेक तह र तप्काका मानिसले श्रमको सम्मान गर्न सिक्नुपर्छ ।”
एक हप्तासम्म सञ्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरु एवं विभिन्न मनोरञ्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिश गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवं विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमूलक रोजगारीका अवसर, सीपप्रतिको बढ्दो महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवं विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरुलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भ अन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन् । यस वर्ष बार्दली, पर्ख न, झ्यालबाट र सारंगीजस्ता हिट गीत दिएका सुशान्तलाई स्पटिफाइमा सुन्नेको संख्या बढ्दो छ । संगीतमार्फत् कथा भन्न सक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूले रुचाएका छन् । आमालाई समर्पित उनको चर्चित गीत “आमा” ले धेरै मानिसको भावनालाई छोएर नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहेको छ ।
त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । “खाली सिसी फ्रेन्ड्स” अन्तर्गत खाली सिसीले १३,००० भन्दा बढी फोहोर बेच्ने व्यक्तिहरुको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवं सहज रुपमा व्यवस्थापन गर्दै आएको छ । आयुषी २०१८ मा फोब्र्सको ३० अन्डर ३०, एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन् । साथै २०१९ मा सामाजिक उद्यमशीलताको क्षेत्रमा उनको योगदानको कदर गर्दै एशिया सोसाइटी २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ । खाली सिसी म्यानेजमेन्टले फोहोरमैला संकलन गर्ने व्यक्तिहरूलाई संगठित गर्दै उनीहरूको कामलाई मर्यादित बनाउने गरी काम गरेको उनको भनाइ छ ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्त्वपूर्ण योगदान रहेको छ । आतिथ्य क्षेत्रको बृहत् अनुभवका साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना गरेका थिए ।
साथै, विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए । उनले सानैदेखि गर्मी मौसमसँग लड्न बाँसबाट बन्ने लचिलो फ्यान लगायत व्यावहारिक आविष्कारहरू सिर्जना गरेका थिए । १८ वर्षको उमेरदेखि लजिस्टिकमा काम गर्न थालेका सानुकाजीले सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू, र युएनडिपिमा विविध अनुभवहरू हासिल गरेका थिए । उनी १९८१ मा विश्व बैंकको कन्ट्री अफिसमा सामेल भएर २००१ मा सेवानिवृत्ति भएका थिए ।
केही समय उनले डेनमार्कको नवीकरणीय ऊर्जाको लागि फोकसेन्टरमा सामेल भई संयुक्त राज्य अमेरिकाको एरिजोनाको केयर कोल सस्टेनेबल लिभिङ सेन्टरमा इन्टर्न गर्दै उन्नत अनुसन्धान अवसरहरू खोजेका थिए । दिगो प्रविधिमा आफ्नो विशेषज्ञता परिष्कृत गर्दै २००२ मा समान विचारधारा भएका व्यक्तिहरूको समर्थनमा उनले दिगो प्रविधिको लागि फाउन्डेसन स्थापना गरे ।
समापन समारोह लक्षित “दिगो भविष्यः सीप, शिक्षा र हरित अर्थतन्त्र” शीर्षकमा सीईओ अनप्लग्ड २०२५ नामक प्यानल डिस्कसन पनि सञ्चालन गरिएको थियो । जसमा व्यापारका चुनौति, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्त्व र नवआगन्तुक व्यापारका पारखीहरूलाई मार्ग दिशा प्रदान गर्ने विषयमा बहस गरिएको थियो ।
टूडे मीट्स टुमरो थिममा सञ्चालित उक्त सीईओ अनप्लग्डको प्यानल डिस्कसनमा नेपालका लागि युरोपेली संघका महामहिम राजदूत भेरोनिक लोरेन्जो, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सीप तथा तालिम महाशाखा प्रमुख एवम् उपसचिव डम्बर सुनवार थिए । मध्यस्थकर्ताका रूपमा युनिभर्सिटी अफ रोह्याम्प्टनका प्रोफेसर एवं भाइस चान्सलर तथा एम्बार्क कलेजका प्रिन्सिपल प्रोफेसर स्टीफन ड्राईभर रहेका थिए ।
यो प्यानल डिस्कसन दिगो भविष्य निर्माणमा सीप विकास र शिक्षाको महत्त्वमा केन्द्रित थियो । कार्यालयिय कामहरुमा दिगोपनलाई समावेश गर्न, ग्रीन जबका लागि जनशक्ति तयार पार्ने र शैक्षिक संस्थाहरू, उद्योगहरू र नीति निर्माताहरूबीच सीपको कमीलाई सम्बोधन गर्न साझेदारी गर्ने रणनीतिहरूको बारेमा छलफल भएको थियो । दूरदर्शी नेतृत्वमा जोड दिँदै प्यानलले ग्रीन स्किल र शिक्षामा लगानी गर्न, आर्थिक लचिलोपन र वातावरणीय संरक्षणमा लगानी गर्नका लागि साझा प्रतिबद्धताहरूलाई प्रेरित गर्ने लक्ष्य राखेको छ ।
इम्बार्क कलेजले सञ्चालन गरेको उक्त ग्लोकल स्किल वीकमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रोमोट गरेको थियो भने युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदारको रूपमा सहभागी थिए । त्यस्तै, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ र सिजी मोटर्स पार्टनरको रुपमा सहभागी थिए ।
कार्यक्रमका प्राविधिक साझेदारको रुपमा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप थिए । होटल पार्टनर द सोल्टी काठमाडौँ रहेको थियो भने इन्टरनेट पार्टनर वल्र्डलिंक रहेको थियो । यति एयरलाइन्स, एयरलाइन्स पार्टनर थियो र नो नेक्स्ट क्वेस्चन आउटरीच पार्टनर रहेको थियो ।































प्रतिक्रिया