बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

केन्द्रबिन्दु
27
Shares

बाँके । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।

“चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ”, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।”

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।”

दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउँछन् । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । “घरभन्दा बाहिर जान सक्ने अवस्था भएन”, उनले भने, “त्यसैले घरमा आगो तापेर बसेको छु ।”

चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ ।

Skip This
Skip This
Logo