तार्केश्वर नगरपालिकाले सुरु गर्‍यो ‘कता हो’ एप, नागरिकलाई आपतकालीन सेवा सजिलै उपलब्ध हुने

तार्केश्वर नगरपालिकाले सुरु गर्‍यो ‘कता हो’ एप, नागरिकलाई आपतकालीन सेवा सजिलै उपलब्ध हुने

केन्द्रबिन्दु
27
Shares

तारकेश्वर नगरपालिकाले आपतकालीन अवस्थामा तत्काल उद्धार तथा सहयोग पुर्‍याउने उद्देश्यले ‘इमरजेन्सी रेस्पोन्स कन्सोल’ (Emergency Response Console) सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन शाखाको पहलमा हार्डवेयरमा आधारित यो अत्याधुनिक प्रणाली जडान गरिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर नगरप्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमका बीच उक्त प्रणालीको उद्घाटन गरे । नगरपालिकाका अनुसार यस प्रणालीमार्फत नगरवासीले स्वास्थ्य, सुरक्षा, आगलागी जस्ता आपतकालीन अवस्थामा निःशुल्क सहयोग लिन सक्नेछन् । 

यसका लागि ‘कता हो एप’ प्रयोग गर्न सकिनेछ । उक्त एपमार्फत जानकारी प्राप्त हुनासाथ स्थान पहिचान गरी तत्काल उद्धार टोली परिचालन गरिनेछ । यस प्रणालीमा ‘नागरिक आँखा’ नामक सेवा पनि रहेको छ । यसमार्फत नागरिकले स्थानीय तहले गरेका कामको मूल्याङ्कन गर्न सक्नेछन् ।

यसैगरी सेवा प्रवाह, विकास निर्माण र अन्य समस्याका बारेमा गुनासो तथा सुझाव दिन पनि सकिनेछ । यसबाट नागरिकमा सचेतना बढ्नुका साथै जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नेपालमै पहिलो पटक यो प्रणाली सुरु गर्न पाउँदा खुशी व्यक्त गरे । विपद्को समयमा हुनसक्ने क्षति न्यूनीकरण गर्न यो प्रणाली महत्त्वपूर्ण हुने उनको भनाइ छ । यसले नगरपालिकाका सेवालाई चुस्त बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

“पालिका भित्रका कुनै नागरिक एक्लै परेको अवस्थामा वा सहयोग चाहिएमा, कता हो एपमार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुनेछ र तारकेश्वर नगरपालिका सहयोगका लागि सधैँ तत्पर रहनेछ,” कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले भने ।

नगरपालिकाले घोषणापत्रमा समावेश गरिएका घर ठेगाना, टोल, ब्लक र घर नम्बर जस्ता सेवालाई पनि अविलम्ब लागू गर्ने तयारी रहेको जानकारी दिएको छ । 

अनुसन्धानकर्ताहरू राम-लक्ष्मण रिमालले विकास गरेको यो प्रणालीको बारेमा जानकारी दिन अभिमुखीकरण तालिम समेत सञ्चालन गरिएको थियो ।

Logo