बाग्लुङमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

बाग्लुङमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङ

गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ ।

मंगलबार अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीयवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैंले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो ।

आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

यता पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पास्थित साकिनेमा एक घरमा आगलागी हुँदा करीब छ लाख मूल्य बराबरको क्षति भएको छ ।

रुद्रबहादुर दर्लामीको घरमा दिउँसो करीब २ बजेको समयमा भएको आगलागीमा घर गोठ जलेर नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका दुईवटा भैसी र घरमा रहेका दुई थान मोवाइल सेट तथा लत्ताकपडा लगायत जिन्सी सामानसहित करीब ६ लाख ७० हजार मूल्य बराबरको क्षति भएको पूर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकबहादुर आलेले जानकारी दिनुभयो ।

दर्लामीको घरमा अचानक आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको वडाध्यक्ष निरबहादुर सारुले बताउनुभयो । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीपीडित परिवार अहिले आफन्त छिमेकीको शरणमा बसेका छन् ।
रासस

Logo