कञ्चनपुर । यहाँका थारू गाउँमा बरघर (भलमन्सा) छनोट सुरु भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने बरघरको छनोट गर्न लागेका हुन् । बरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ ।
बरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । बरघरसँगै थारू समुदायले धार्मिक कार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका छन् ।
प्रत्येक वर्ष थारू समुदायका प्रत्येक गाउँमा बरघर चयनको कार्य हुने गरेको छ । “राम्रो कार्य गर्ने बरघरले अर्को वर्ष पनि गाउँको नेतृत्व गर्ने मौका पाउँछन्”, कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले भने “गाउँलेले पुरानोको कामलाई मन नपराए अर्को बरघर (भलमन्सा) चयन गर्छन् ।” गाउँका बासिन्दाको सल्लाहमा वरघर चयन हुने गरेको उनले बताए ।
उनका अनुसार बरघरिया भनेको थारू समुदायको नेतृत्वकर्ता हो । थारू समाजमा बडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको बरघरियाले सिङ्गो थारू गाउँको नेतृत्व गरेको हुन्छ । बरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् ।
जनप्रतिनिधिले बरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् । “जनसहभागिता जुटाउन र गाउँले भेला गर्न बरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो”, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “बरघरिया भएका गाउँमा विकास निर्माण गर्न निकै सहज हुन्छ ।”
बजेटको मुख नताकेर जनश्रमदान जुटाएर विकास निर्माणका कार्य विगतमा हुँदै आएकामा हाल त्यस कार्यमा भने कमी आएको उनी बताउँछन् । विकास निर्माण ज्याला मजदुरीमै गराउन थालिएपछि श्रमदान गर्ने कार्यमा कमी आएको उनको भनाइ छ ।
दुई दिनअघि मात्र बरघरमा चयन भएका कृष्णपुर नगरपालिका–२ वाणीका धनबहादुर चौधरी गाउँको रीतिथिति बसाल्ने कार्यका लागि जिम्मेवारी दिएकाले निष्पक्ष तरिकाले कार्य गर्ने बताउँछन् । विकास निर्माणदेखि देवीदेवताको पूजा गर्ने, चाडपर्वमा नृत्य टोलीको व्यवस्था गर्ने, अंशवण्डा गर्ने, गाउँमा हुने विवाहको चाँजोपाँजो खटनपटनको कार्य गर्न योजना बनाएर लागू गर्ने उनले बताए ।
थारू समुदायमा बरघरले गरेको निर्णय मान्नुपर्ने परम्परा छ । बरघरिया, गुरूवा, केसौका, चिरक्या र चौकिदारलाई गाउँको कार्य गरेबापत निश्चित रूपमा धान, गहुँलगायत अन्न गाउँका प्रत्येकका घरबाट उठाएर तिरो दिन्छन् । अहिले नगद रकम उठाएर दिने चलन पनि छ । यो प्रथा थारू समुदायको बसोबास रहेको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा प्रचलनमा छ ।
केही स्थानीय तहले नगरसभाबाट कानुन पारित गरेर यस प्रथालाई व्यवस्थित बनाउने कार्य गरेका छन् । गाउँको सामुहिक कार्यको योजना बरघरले बनाउँछन् भने वर्षभरि गरिने घरको योजना घरको मुखियाले बनाउने गर्छन् । माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घरव्यवहारबारे छलफल गर्ने गरिन्छ । जसमा खेतमा कुन बाली लगाउने, उमेर पुगेका घरका युवायुवतीको विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहाजनको व्यवहार कसले गर्नेलगायत योजना पर्छन् ।































प्रतिक्रिया